जेनजी आन्दोलनले सामाजिक सञ्जालमा प्रतिबन्ध, भ्रष्टाचार र कुशासनविरुद्ध युवा पुस्ताको आक्रोशलाई एकजुट बनायो । यो आन्दोलनमा सहभागी हुन काठमाडौंका सडकमा ठूलो संख्यामा युवा उत्रिए । प्रदर्शनहरू हिंसात्मक बने । अहिले यो आन्दोलनमा ठूलो संख्यामा फेक आईडी बनाएर विभिन्न अभियान सञ्चालन गरिएको खुलासा भएको छ ।
जेनजी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिर आएका थिए । उनलाई लिन ठूलो संख्याको भीड कारागारअघि पुगेको थियो । प्रहरीले सुरक्षा दिन नसक्ने भएपछि लामिछानेलाई बाहिर पठाएको रास्वपाले बताउँदै आएको छ । तर, फेक आईडीको प्रयोगमार्फत लामिछानेलाई पुनः कारागार तत्काल पठाउन अभियान नै सञ्चालन भएको पनि अहिले खुलासा भएको हो । यो अभियानले आन्दोलनको उद्देश्यलाई हाइज्याक गर्न खोजेको आरोप लाग्यो, जसले नेपालको राजनीतिक परिदृश्यमा नयाँ बहस सिर्जना गरेको छ ।
जेनजी आन्दोलनको सुरुवात सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार अन्त्य गर्ने मागबाट भएको थियो । युवाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश ठाने । काठमाडौं, पोखरा, बुटवलजस्ता सहरहरूमा प्रदर्शनहरू भए, जसमा हजारौं युवा सहभागी थिए । यही प्रदर्शनका क्रममा दोस्रा दिन नख्खु कारागारमा प्रदर्शनकारीहरूले रवि लामिछानेलाई रिहा गरे, जसलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै अनुमति दिएको बतायो । यो घटनाले आन्दोलनलाई नयाँ दिशा दियो, तर एकैसाथ यसलाई विवादमा पनि तान्यो । लामिछानेमाथि सहकारी ठगीको मुद्दा थियो र उनको रिहाइलाई लिएर सामाजिक सञ्जालमा दुई ध्रुवमा बहस सुरु भयो । एकातिर उनलाई समर्थन गर्नेहरूले यो मुद्दालाई राजनीतिक प्रतिशोध ठाने भने अर्कोतिर विरोधीहरूले उनलाई आन्दोलनको मौकामा कारागार बाहिर आएको आरोप लगाए ।
यही बेला जेन जीको नाममा फेक आईडीहरू सक्रिय भए । फेसबुक र टिकटकमा सयौं फेक प्रोफाइलहरू बनाइए, जसले एकैखाले मेसेजहरू फैलाउन थाले । यी मेसेजहरूमा लामिछानेलाई ठग, फ्रड र भगौडा भनिन्थ्यो । उदाहरणका लागि, एउटा फेक अकाउन्टले लेख्यो, ‘रवि लामिछानेले सहकारीको पैसा लुटे, जेलबाट भागे, अब जेन जीको नाममा लुक्न खोज्दैछन् ।’ यस्ता कमेन्ट र पोस्टहरूले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिन थाले । यी फेक आईडीहरू जेन जी आन्दोलनको मूल मागलाई बंग्याएर लामिछानेमाथि व्यक्तिगत आक्रमणमा केन्द्रित भए । आन्दोलनकारीहरूले यो अभियानलाई आन्दोलन हाइज्याक गर्ने प्रयास भने । कतिपयले यो काम नेपाली कांग्रेस, एमाले र माओवादीका समर्थकहरूबाट भएको आरोप लगाए । यी आरोपहरूमा सत्यता पुष्टि हुन बाँकी छ, तर सामाजिक सञ्जालमा देखिएको विषवमनले आन्दोलनको गति र दिशालाई प्रभावित ग¥यो ।
लामिछाने पछिल्लो समय लोकप्रिय मत पाएर सांसद बनेका पात्र हुन् । नयाँ वैकल्पिक पार्टीका नेतृत्वकर्ता हुन् । तर, बेलाबेलामा उनी विवादमा पर्दै आएका छन् । यसमा राजनीतिक प्रतिशोध पनि मिसिएको छ । पुराना पार्टीको अक्षमतामाथि प्रश्न उठाउँदै पार्टी गठन गरेका लामिछानेलाई जनताले पनि साथ दिएका छन् । सोही कारण गत निर्वाचनमा रास्वपा चौंथो ठूलो पार्टी बन्न सफल भएको थियो । उनले लगातारजसो राजनीतिक बेथिति, ठूला पार्टी तथा तिनका नेताहरुको सिन्डिकेडविरुद्ध शक्तिशाली आवाज उठाएका थिए । यसले पुराना राजनीतिक दलप्रति जनताको विश्वासको घट्दै गएको पनि स्पष्ट पारेको थियो । तर, पछिल्लो समय फेक आईडी प्रयोग गरेर व्यक्तिको चरित्रहत्या गर्ने कार्य लामिछानेको सन्दर्भमा पनि देखिएको छ ।
यो घटनाले नेपालको राजनीतिक अस्थिरता र सामाजिक सञ्जालको दुरुपयोगलाई उजागर गरेको छ । जेन जी आन्दोलनले युवाहरूको आक्रोशलाई एक ठाउँमा ल्याए पनि फेक आईडीहरूको प्रयोगले यसलाई राजनीतिक हतियार बनाउने प्रयास भयो । लामिछानेमाथिको सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ, तर सामाजिक सञ्जालमा उनको छवि धमिल्याउने अभियानले उनको राजनीतिक भविष्यमाथि प्रश्न उठाएको छ । उनको रिहाइलाई लिएर एकातिर समर्थनको लहर छ, भने अर्कोतिर फेक आईडीहरूले उनलाई बदनाम गर्ने प्रयास जारी छ ।
यो अभियानले जेन जी आन्दोलनको मूल मर्मलाई कमजोर बनाएको छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने, भ्रष्टाचारविरुद्ध लड्ने र सुशासनको माग गर्ने आन्दोलनलाई व्यक्तिगत र राजनीतिक स्वार्थले हाइज्याक गर्न खोजिएको छ । यो अवस्थामा आन्दोलनकारीहरूलाई एकजुट भएर आफ्नो मागमा केन्द्रित रहनु जरुरी छ । लामिछानेका समर्थकहरूले पनि कानुनी बाटोबाट लड्नुपर्छ भने फेक आईडीहरूको दुरुपयोग रोक्न सामाजिक सञ्जाल प्लेटफर्महरूले कडा कदम चाल्नुपर्छ । फागुन २१ को चुनाव नजिकिँदै गर्दा जेनजी आन्दोलनले आफ्नो शक्ति र विश्वसनीयता जोगाउन सत्याग्रह र शान्तिपूर्ण बाटो अपनाउनुपर्छ । यो घटनाले नेपालको युवा पुस्ताको आक्रोश र सम्भावनालाई देखाए पनि राजनीतिक दुरुपयोगले त्यसलाई कमजोर बनाउन सक्छ । तसर्थ, जेनजीहरूले कसैको बहकाउमा नलागेर सतर्क रहँदै आफ्नो आवाजलाई बुलन्द गर्न जरुरी छ । जनधारणा साप्ताहिक


