काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजीदेखि बालेनसम्मलाई मिलेर जान प्रस्ताव गरेका छन्। पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले सकेसम्म सबै शक्ति मिलेर एउटै पार्टी बनाउन नत्र मोर्चाबन्दी गर्न आह्वान गरेका हुन्।
उनले पत्रकार सम्मेलनमा बिहीबार भने- ‘नयाँ उदाउनु भएको राजनीतिक चेतसहितका युवा हुनुुहुन्छ, तपाईंहरू र हिजोदेखि हामीले नै काम गर्दै आएको नयाँ शक्ति, उज्जल थापाले अगाडि बढाउनु भएको विवेकशील साझा, पछि उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन्द्र शाह, हर्क साम्पाङ लगायत एक ठाउँमा आउने अथवा सहकार्य गर्ने वातावरण तपाईंहरुले नै बनाउनुपर्छ।’
संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा पछाडि भने फर्कन नहुने भन्दै उनले राजसंस्थातर्फ फर्कने सम्भावनालाई पत्रकार सम्मेलनमा नकारेका हुन्।
उनले सबै मिलेर एउटै दल बनाउन नसके सैद्धान्तिक आधारमा मोर्चाबन्दी गर्नसकिने पनि उल्लेख गरेका थिए।
बुधबार डा. भट्टराईले पार्टी अध्यक्ष त्यागेर दुर्गा सोबको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेका थिए।


