काठमाडौं । भारतीय र नेपाली चलचित्रकर्मीको सहकार्यमा कथानक चलचित्र ‘मोना लिसा (ब्लडी लभ) निर्माण हुने भएको छ।
घटस्थापनाको अवसर पारेर निर्माण युनिटले सो चलचित्र निर्माणको घोषणा गरेको हो।
बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रकाे लेखन तथा निर्देशन किङ योगीले गर्नुभएको हो। ठुलो बजेटमा निर्माण हुने भनिएको चलचित्रमा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेशनल स्टुडियोजले दिएको छ।
यसअघि ठुला–ठुला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूह संलग्न हुने भएकाले प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।
हाल चलचित्रकाे प्रारम्भिक तयारीसँगै कलाकार छनोट भइरहेको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको चलचित्र सन् २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजना निर्माण युनिटको छ।
सार्वजनिक गरिएको चलचित्रकाे पहिलो झलक पोस्टरमार्फत चलचित्रलाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ। यसले चलचित्रमा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने विश्वास गरिएको छ।


