काठमाडौं । साफ यु-१७ च्याम्पियनसिपमा नेपाल बंलादेशसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ।
बंगलादेशको जितमा साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे।
यो खेल जितेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने थियो।
तर अब नेपालले बंगलादेश र श्रीलंकाको खेलको नतिजा कुर्नु पर्नेछ। यो समुहमा नेपालले २ खेल खेलिसक्दा ३ अंक बनाएको छ। बंगलादेशले एक खेलबाट ३ अंक बनाएको छ।
एक खेल खेलेको श्रीलकाले अंक जोड्न सकेको छैन । अब बंगलादेशले श्रीलंकालाई हराए वा बराबरी खेलेमा नेपाल सेमिफाइनलमा पुग्नेछ।
श्रीलंकाको कोलोम्बोमा भएको खेलमा बंगलादेशले सुरूवात देखि नै एकपक्षीय दबाब बनायो। नेपालले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेन ।
खेलको ३० औं मिनेटमा भने नेपाली डिफेन्सलाई तोड्दै बंगलादेशले गोल गर्यो। कप्तान नजमुल हुडा फैसलको कर्नरलाई नेपालका गोल किपर राम बहादुर बोहराले पन्च गरेपनि साबिरले उत्कृष्ट भलि गोलमा परिणत भयो। नेपाल विरुद्ध पहिलो हाफमा बंगलादेशले १-० को अग्रता बनायो।
दोस्रो हाफमा नेपाललाई खेलमा फर्कने दबाब थियो। तर बंगलादेशलर २ मिनेट भित्र दुई गोल गर्दै नेपाललाई ३-० ले पछि पार्यो। ४९ औं मिनेटमा मोहम्मद ओपुले क्लोज रेन्जबाट गोल गरे। त्यसको एक मिनेट बित्न नपाउँदै मोहम्मद आरिफले करिब २५ यार्ड टाढाबाट हानेको पावरफुल प्रहारले सही दिशा लियो।
खेलको ६६ औं मिनेटमा मोहम्मद मानिकले अर्को गोल थपेसँगै बंगलादेशले नेपाल विरूद्ध ४-० को आरामदायी जित हात पार्यो। नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले हराएको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना जारी च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता रहेको छ।
नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।


