काठमाडौं । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए ।
प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०-८१ मा १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१-८२ मा रु १९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा उक्त क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या रार्क राष्ट्रबाट ४७ हजार ३९९ जना रहेकामा अन्य देशबाट आउने सङ्ख्या एक लाख ५३ हजार २६२ जना रहेका थिए । त्यसैगरी गत आवमा सार्क राष्ट्रबाट ५० हजार ५३३ जनाले अवलोकन गरेकामा अन्य देशका एक लाख ६९ हजार ३९५ जानले उक्त क्षेत्रको अवलोकन गरेका छन् । अघिल्लो आवभन्दा गत आवमा पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको प्रधानको भनाइ छ ।
सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि ५०० निर्धारण गरिएको छ भने अन्य मुलुकबाट आउने पर्यटकका लागि रु एक हजार निर्धारण गरिएको छ । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।


