काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको जनाएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारको निर्णयको माओवादी केन्द्रले विरोध गर्ने बताए। उनले सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको जिकिर गरे।
नियमनको कुरा आवश्यक रहेको र तर के के र कहाँ समस्या हो पहिचान गर्न जरुरी रहेको उनको भनाइ थियो।
उनले भने, ‘सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ। यसको हामी विरोध गर्दछौँ। नियमन गर्ने कुरा आवश्यक छ। तर, यसका लागि सरकारले कहाँ समस्या हो, के के हो हेरेर बल्ल नियमन गर्नुपर्छ। सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले ख्याल गर्नुपर्छ।’


