काठमाडौं । एकता पौडेलको डेब्यू निर्देशकीय फिल्म ’हर्ष’को पहिलो झलक सार्वजनिक भएको छ । सोमबार फिल्मका दुई पोस्टर सार्वजनिक गरिए ।
जसअनुसार, यो फिल्म मंसिर १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । सार्वजनिक दुबै पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ ।
मामा शिव रेग्मीका पदचाप पछ्याउँदै भाञ्जी एकताले यो फिल्मबाट करिअर थालेकी हुन् ।
निर्देशक पौडेलले अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म अध्ययन तथा आमसञ्चार विषयमा स्नातक गरेकी हुन् ।
फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगीता नापित, साइमन वादीको अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । निर्माता प्रसन्न पौडेल र विकास पौडेल छन् । कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।


