काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको कथानक चलचित्र ‘मालती मंगले’को छायांकन विहिबारदेखि सुरु भएको छ ।
छायांकनअघि कोटेश्वरको महादेवस्थान मन्दिरमा स्क्रिप्ट र उपकरणको पूजाआजा सम्पन्न भएकाे छ । पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए । सो अवसरमा कलाकार विजय बराल र वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै छायांकन थालेकाे हाे ।
निर्माता तथा गायक ढकालले शुभमुहूर्त कार्यक्रममा ‘राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता’ गरे । ‘दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्मक कथा पस्किने प्रयास गर्नेछौं’ उनले भने । चलचित्रमा विजय र वर्षासहित मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईको अभिनय हुनेछ ।
निर्देशन प्रकु पाण्डेयले गर्नेछन् । पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन् । यो फिल्म पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित रहने जनाइएको छ । कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार छायांकन तनहुँ र स्याङ्जा जिल्लामा हुनेछ । रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानर, युनी इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो ।
निर्माता ढकाल हुन् भने सह-निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईं र ईश्वर बजगाईं छन् ।


