-सबि भट्टराई
हालै सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताए । उनले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको जिकिर गरे । उनले नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र बृहत एकता कायम गर्न निर्देशन पनि दिए ।
देउवाले भनेजस्तै कांग्रेस मात्रै होइन, अन्य पुराना दलमाथि पनि जनताको भरोसा उठेको छ । नयाँ दल र नेतृत्वमाथि जनताले अपेक्षा राख्न थालेका छन् । यसको कारण हो, वर्षौंदेखि सत्ता र संस्थामा बस्दै आएका ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका शक्तिहरूको व्यवहार, चरित्र र कार्यशैलीमा अझै संक्रमणकालीन सोच, जसबाट उनीहरु बाहिरिएको देखिँदैन । जबकि जनताले पटक–पटक तिनै दलहरूलाई बहुमत दिएर सत्तामा पु¥याए पनि उनीहरूले जनआकांक्षाको प्रतिनिधित्व गर्न सकेका छैनन् । यही असफलताबाट असन्तुष्ट भएर जनताले नयाँ शक्तिको खोजी गरेका छन्, जसको पछिल्लो उदाहरण हो, रास्वपालगायतका वैकल्पिक दलहरूको उदय । यही कारण गौरवशाली इतिहास भएको कांग्रेस अहिले जनमत गुमाउँदै गएको छ ।
पुराना दलहरू आफैंभित्रको संकट, नेतृत्वको अकर्मण्यता र वैचारिक दिशाविहीनताको शिकार भइरहेका छन् । कांग्रेसभित्र पुरानै गुटबन्दीले पार्टी चलिरहेको छ भने एमालेभित्र केपी शर्मा ओलीको एकल प्रभुत्वमाथि गम्भीर आलोचना भइरहेको छ । माओवादी केन्द्रको अवस्था झनै अन्योलग्रस्त छ । यी सबै पक्षहरूले दलहरुप्रति जनताको विश्वास क्रमशः खस्किरहेको छ । तर, पुराना दलका नेताहरु यसलाई मान्न तयार छैनन् ।
विगतमा परिवर्तनको नाममा धेरै प्रयोग गरिए, तर ती प्रायः सतही मात्र रहे । दलहरूले नयाँ पुस्तालाई अवसर दिने कुरा गरे, तर निर्णय लिने तहमा पुरानै अनुहार यथास्थानमा छन् । ‘सेन्ट्रल कमिटी’ वा ‘पोलिटब्युरो’ का बैठकहरूले उठाएका प्रश्नहरू पनि कागजमा मात्र सीमित छन्, व्यवहारमा प्रतिबिम्बित हुँदैनन् । न त विचारधाराको स्पष्टता छ, न त कार्यदिशाको दृढता । दलहरू अझै चुनावी स्वार्थ र पद प्राप्तिमा केन्द्रित छन् ।
करिब दुई दशकयताको नेपालको अवस्था हेर्ने हो भने यसबीचमा राजनीतिक दलले राजसंस्थालाई बिदाई गरेर लोकतन्त्र र गणतन्त्र स्थापना गरेका छन्, नयाँ संविधान ल्याएका छन् । त्यसबाहेक अन्य खासै परिवर्तन हुन सकेको छैन । कांग्रेस, एमालेमा उही पुरानै नेतृत्व, अनियमितता, भ्रष्टाचारको आरोप । माओवादीको १० वर्ष लामो जनयुद्ध र जनआन्दोलनपछि देशले विकास र समृद्धिको बाटो समात्ला भन्ने ठूलो आशा थियो । दल तथा तिनका नेताले ती सपना पूरा गर्न अगुवाइ गर्लान् भन्ने जनताको विश्वास थियो । तर, त्यो विश्वासलाई तोड्दै नेताहरु भने राजनीतिक दाउपेचमा नै व्यस्त भए । व्यक्तिगत स्वार्थ पूरा गर्न, सत्तामा पुगेर राज्यकोष दोहन गर्न सक्रिय भए । भ्रष्टाचार, अनियमिततामा संलग्न भए । यसबीचमा एकता गरेर देशको विकास गर्छु भन्ने एमाले र माओवादीको गठबन्धनलाई जनताले चुनावमा बहुमत पनि दिए । तर, प्रमुख नेताहरुको कारण त्यो गठबन्धन मात्र टुटेन, जनताको बहुमत पनि खेर गयो । अहिले कांग्रेस र एमालेबीच गठबन्धनको सरकार त छ, तर जनताले यो सरकारमाथि भरोसा देखाएका छैनन् ।
यसबीचमा देशको दुर्दशा भने बढिरह्यो । रेमिट्यान्समा आश्रित देश युवालाई खाडी पठाउन नै व्यस्त भयो । सर्वहारा वर्ग महँगीका कारण जीवनयापन नै गर्न नसक्ने अवस्थामा पुगे । बैंक तथा वित्तीय संस्थाले जनताको ढाड सेकिरहे । शिक्षण संस्था र स्वास्थ्य संस्थाले लुटिरहे । तर सरकार मूकदर्शक मात्र रह्यो । बरु नेताले आफ्ना कार्यकर्तालाई पोस्न योजना वितरण गरे । अनावश्यक कर्मचारीका कारण देशको राजस्व जति तलबभत्तामै खर्च भइरह्यो । देशको अर्थतन्त्र नै डामाडोल भयो । यही वितृष्णास्वरुप जनताले ‘ब्यालेट बक्स’मार्फत सुरु गरेका छन् । जुन आगामी चुनावसम्म अझै भयावह रुपमा देखिन सक्छ, यदि पुराना दलले आफूलाई नसच्याउने हो भने । अहिले पनि सत्तामा रहेका पुराना दललाई अझै आफ्नो काम देखाउने र जनताको मन जित्ने अवसर छ । केवल बाँकी छ त इच्छाशक्तिको । यदि आफ्नो राजनीतिक गतिविधिलाई पारदर्शी, भ्रष्टाचार बिरोधी, जनताकेन्द्रित र विकास निर्माणमा लगाउने हो भने अवश्य नै जनताको मन पुराना दलप्रति फर्किन पनि सक्ला । अब समय आएको छ, पुराना दलहरूले आत्मसमीक्षा गरून् । संगठनमा सोचको क्रान्ति ल्याउने प्रयास गरून् । राजनीतिक प्रतिस्पर्धा केवल चुनाव जित्ने रणनीतिमा सीमित नहोस्, विचार, नीति र जनप्रतिनिधित्वको गुणस्तरमा आधारित होस् । त्यसका लागि दलहरू आफैंभित्र अनुशासन, जवाफदेहिता र सेवा भावको संस्कार निर्माण गर्न सक्नुपर्छ । जनधारणा साप्ताहिक


