काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा चरम वित्तीय अनुशासनहीनता मौलाउँदा जनतामा निराशा बढेको जनाएका छन्। आज सार्वजनिक लेखा समितिको बैठकमा उनले १० वटा मन्त्रालयमा ९१ प्रतिशतसम्म बेरुजु हुनुले आर्थिक अनुशासनको धज्जी उडाएको स्पष्ट हुने जनाएका छन्।
सांसद केसीले नेपाल ग्रे लिस्टमा परिरहेको र भ्रष्टाचारको सूचकमा पनि गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै बढ्दो वित्तीय अनुशासनहीनताले नागरिकमा निराशा बढाएको जनाए। उनले सबै बेरुजु भ्रष्टाचार नभए पनि ४० प्रतिशतभन्दा बढी बेरुजु भ्रष्टाचारजन्य रहेको दाबी गरे। यस्तो भ्रष्टाचारजन्य बेरुजु घटाउन निर्ममतापूर्वक लाग्नुपर्ने उनको धारणा छ।
उनले पछिल्लो तीन वर्षमा बेरुजु फछ्र्यौटको दर घटेकोमा चिन्ता व्यक्त गर्दै प्रशासनिक मेरुदण्डका रूपमा रहेका सचिवहरूले राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थका कारण बेरुजु घटाउन चासो नदेखाएको आरोप लगाए।
सांसद केसीले बेरुजु घटाउने काममा सचिवहरूको बारम्बारको सरुवा पनि बाधक रहेको बताए। उनले हरेक वर्ष तीन पटकसम्म सचिवको सरुवा गरिनु ठीक नभएको भन्दै यस विषयमा सरकारलाई निर्देशन दिनुपर्ने बेला आएको बताए। आर्थिक अनियमितता हटाउन कर्मचारी संयन्त्रलाई प्रभावकारी बनाउन र एक्शन प्लान बनाएर काम गर्नुपर्ने उनको सुझाव छ।


