रुपन्देही । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जेलमा पन्चायतकाल भन्दा बढि अन्याय गरिएको जनाएका छन् । नेसपा नयाँ शक्तिका अध्यक्ष समेत रहेका भट्टराईले आज रविलाई भैरहवा कारागार पुगेर भेटेपछि संचारकर्मीलाई यस्तो प्रतिकृया दिएका हुन् ।
अध्यक्ष भट्टराईले रविलाई जेलमा पत्रिका समेत पढ्न नदिएर पन्चायतकाल भन्दा बढि अन्याय गरेको जनाएका छन् । रविलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा उनिलाई सूचनाबाट बञ्चित गरिएको र साँघुरो कोठामा एक्लै राखिएको भट्टराईले जनाए ।
रवि एक निर्वाचित सांसद भएकाले उनी भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले उनलाई थुनामुक्त गरेर बाहिरै बसेर मुद्धा लड्ने सुविधा दिनुपर्ने उनको माग थियो ।
नेसपा लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रमका लागि भैरहवा पुगेका भट्टराईले कारागारमा रविलाई भेटेका थिए ।
रवि जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर भेट्न गएको जनाए । अध्यक्ष भट्टराईले सरकारले रविमाथि प्रतिशोध सांधेको भन्दै रास्वपाले संचालन गरेहको हस्ताक्षर अभियानमा सहभागी भई रविको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।


