काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको सामाजिक सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले रोलमोडलका रूपमा अघि बढाउन खोजिरहेको जनाएका छन्।
आइतबार सामाजिक सुरक्षा कोष र नेपाल बार एशोसिएसनबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्री भण्डारीले आईएलओको जेनेभा बैठकमा नेपालको सामाजिक सुरक्षा प्रणालीलाई उदाहरणीय मानेर अगाडि बढाउन खोजिएको जानकारी दिए ।
साथै उनले नेपालको सामाजिक सुरक्षा योजना अन्तर्राष्ट्रिय मञ्चमा प्रशंसायोग्य रहेको जनाएका छन् ।
उनले सबै नेपालीले अवकाशपछिको जीवनमा पेन्सन पाउने अवस्था सिर्जना गर्ने लक्ष्य सरकारको रहेको बताए। वर्षेनी श्रम बजारमा प्रवेश गर्ने पाँच लाख जनशक्तिमध्ये मात्र एक लाखले सरकारी जागिर पाउने भएकाले बाँकी चार लाखलाई सामाजिक सुरक्षामा समेट्न जरुरी रहेको उनको भनाइ थियो।
मन्त्री भण्डारीले अनौपचारिक, स्वरोजगार र अन्य क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्न सक्ने संरचना निर्माण भइरहेको स्पष्ट पारे ।


