काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउँदा पार्टी बलियो हुने भन्दै स्वागत गर्नुपर्ने जनाएका छन् ।
मंगलबार पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले यस्तो जनाएका हुन् ।
उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय प्राविधिक भएको भन्दै त्यसलाई पार्टी विवादको विषय बनाउन नहुने पनि जनाए । ‘विद्या भण्डारी पार्टीमा लाग्दा यो पार्टी नै बलियो हुन्छ ।
राष्ट्रपति बनाउने निर्णय पनि यही पार्टीले गरेको हो,’ न्यौपानेले भने, ‘उहाँले त्याग्नु भएको सदस्यता भनिएको कुरा प्राविधिक हो । त्यसकारण उहाँको पार्टी सदस्यतालाई विवादको विषय नबनाइयोस् ।
पार्टीमा स्वागत गरियोस् ।’ हिजोबाट सुरु भएको केन्द्रीय समिति बैठकमा भण्डारीको राजनीतिक सक्रियताबारे सबैजसो सदस्यहरूले धारणा राखिरहेका छन् ।


