– निमकान्त पाण्डे
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनको पुनर्गठनका लागि हालै एउटा रूपरेखा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेको यो सन्देशमा माओवादी आन्दोलनको विगत, वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे गहिरो विश्लेषण गरिएको छ । नेपालमा माओवादी आन्दोलन र जनयुद्ध थालनी र सफलताका एक प्रमुख व्यक्ति बाबुराम हुन् । त्यसकारण पनि माओवादी आन्दोलनबारे उनका धारणा विचारणीय छन् । तर, उनका धारणा जति मननीय छन्, व्यवहारमा भने त्यस्तो ठीक विपरीत हुने गरेको छ, जसका कारण उनी आफैं सधैं आलोचनामा पर्ने गरेका छन् ।
सर्वप्रथम त, माओवादी आन्दोलनको पुनर्गठनबारे उनका विचार हेरौं । डा. भट्टराईका अनुसार नेपालको माओवादी आन्दोलन सापेक्ष रूपमा सफल भएको छ । उनले यसलाई २०औं शताब्दीको अन्त्यतिर र २१औं शताब्दीको सुरुवातमा भएको विश्वको एक मात्र सफल सशस्त्र क्रान्तिको रूपमा चित्रण गरेका छन् । अन्य देशमा भएका माओवादी आन्दोलनहरू—जस्तै पेरू, भारत, टर्की र फिलिपिन्समा या त पूर्ण रूपमा समाप्त भएका छन् वा अत्यन्तै कमजोर अवस्थामा छन् । नेपालमा भने यो आन्दोलनले राजनीतिक परिवर्तन ल्याउन सफल भएको छ । यसमा बाबुरामको विचारमा सहमत हुन सकिन्छ ।
अर्कोतर्फ, हाल माओवादी आन्दोलन विभाजित र कमजोर अवस्थामा रहेको डा. भट्टराई स्वीकार गर्छन् । उनका अनुसार, नेताहरूको विभाजन मात्र आन्दोलनको कमजोरीको कारण होइन; यो बालसुलभ बुझाइ हो । वास्तविक समस्या भनेको आन्दोलनको वैचारिक र राजनीतिक पुनर्संश्लेषणको अभाव हो । उनले वर्तमान समस्याहरू समाधान गर्न पुराना विचारहरू पर्याप्त नहुने र नयाँ वैकल्पिक राजनीतिक सोच आवश्यक रहेको तर्क प्रस्तुत गरेका छन् ।
डा. भट्टराईले माओवादी आन्दोलनको पुनर्गठनका लागि छ बुँदे समीक्षा प्रस्तुत गरेका छन् । उनका अनुसार, आन्दोलनका नेताहरूले विगतका कम्युनिष्ट सत्ताहरू किन असफल भए, संसदीय कम्युनिज्म किन लोप हुँदै गइरहेको छ भन्ने प्रश्नहरूलाई वस्तुनिष्ठ रूपमा विश्लेषण गर्नुपर्छ । यसका लागि नयाँ विचार, दर्शन र राजनीतिक पुनर्संश्लेषण आवश्यक छ । उनले माओवादी र अन्य कम्युनिष्ट धारका नेता तथा कार्यकर्ताहरूलाई सिर्जनशील ढंगले सोच्न र पहल लिन आह्वान गरेका छन् ।
डा. भट्टराईको यो रूपरेखा माओवादी आन्दोलनको वर्तमान संकट र भविष्यको सम्भावनाबारे गहिरो चिन्तन हो । उनले आन्दोलनको विगत सफलतालाई स्वीकार गर्दै वर्तमान चुनौतीहरूको समाधानका लागि वैचारिक पुनर्संश्लेषण र नयाँ राजनीतिक सोच आवश्यक रहेको तर्क प्रस्तुत गरेका छन् । यो दस्तावेज माओवादी आन्दोलनका कार्यकर्ताहरू र नेपाली राजनीतिमा रुचि राख्ने सबैका लागि विचारणीय छ । तर उनीमाथि व्यवहारमा भने लेण्डुपवाद अवलम्बन गर्दै आएको आरोप छ ।
भट्टराईमाथि विचारमा माओवाद भए पनि व्यवहारमा लेण्डुपवाद भएको आरोप लाग्नुका पछाडि उनको राजनीतिक यात्रा, नीतिगत निर्णयहरू, भारतसँगको सम्बन्ध र माओवादी आन्दोलनको परिणामसँग जोडिएका विभिन्न कारणहरू छन् । लेण्डुपवाद अर्थात् जसलाई सिक्किमको भारतमा विलयसँग जोडेर राष्ट्रघाती नीतिको प्रतीकको रूपमा लिइन्छ । भट्टराई प्रधानमन्त्री हुँदाका कार्यशैली र निर्णयहरूले यही वादलाई समर्थन गरेको आरोप छ ।
भट्टराई माओवादी जनयुद्धका प्रमुख वैचारिक नेतामध्ये एक थिए । उनले माओवादी सिद्धान्तलाई नेपालको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको आधार बनाएर जनयुद्धको नेतृत्व गरे । तर, २०६२÷६३ को १२ बुँदे सहमति, जसले माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो, त्यसमा उनको भूमिकालाई लिएर विवाद उत्पन्न भयो । यो सहमति भारतको मध्यस्थतामा भएको थियो, जसलाई कतिपयले नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको संज्ञा दिन्छन् । भट्टराईले जनयुद्धको समयमा भारतीय कम्युनिस्ट नेताहरूसँग सम्पर्क राखेको र भारतमै बसेर गतिविधि सञ्चालन गरेको कुराले पनि उनलाई भारतपरस्तको रूपमा चित्रण ग¥यो । यो अवस्थाले उनको माओवादी विचारधारा र व्यवहारबीचको अन्तरलाई उजागर ग¥यो ।
शान्ति प्रक्रियापछि माओवादी आन्दोलनले संविधानसभा र गणतन्त्रको बाटो समात्यो, जुन माओवादको कट्टर क्रान्तिकारी सिद्धान्तबाट विचलन भएको थियो । भट्टराईको प्रधानमन्त्रीकाल (२०६८–२०६९) मा लिएका नीतिहरू, जस्तै भारतसँगको बीप्पा सम्झौता र संविधान निर्माणमा भएको ढिलासुस्ती, भारतको हितमा काम गरेको आरोपसँग जोडिए । यस्ता निर्णयहरूले उनलाई नेपालको राष्ट्रिय स्वार्थलाई कमजोर बनाउने नेताको रूपमा चित्रण ग¥यो ।
भट्टराईले २०७२ मा माओवादी छोडेर नयाँ शक्ति पार्टी गठन गरे र पछि समाजवादी पार्टीमा संलग्न भए, जसलाई कतिपयले अवसरवादी र सिद्धान्तविहीन कदम माने । माओवादको क्रान्तिकारी लक्ष्य, जस्तै सामन्तवाद र राजतन्त्रको अन्त्य, पूरा गर्न नसकेको भन्दै उनको आलोचना भयो । जनयुद्धको समयमा राखिएको १९५० को नेपाल–भारत सन्धि खारेजीको मागलाई शान्ति प्रक्रियापछि व्यवहारमा लागू नगरेकोले उनलाई राष्ट्रियताको सवालमा कमजोर भएको आरोप लाग्यो । उनले प्रचण्डको ढुलमुले नीतिका कारण माओवादी आन्दोलन पूर्ण सफल नभएको तर्क गरेर आफ्नो प्रतिरक्षा गर्छन् । तर, भारतसँगको निकटता, माओवादी सिद्धान्तबाट विचलन र राष्ट्रिय हितमा सम्झौता गरेको आरोप उनीमाथि पनि छ । भट्टराईको कार्यशैली र निर्णयहरूले उनको माओवादी विचारधारा र व्यवहारबीचको अन्तरलाई उजागर गरेको छ । उनी आफ्नो विचार र व्यवहारमा स्पष्ट हुनुपर्ने आवश्यकता देखिएको छ । जसले मात्र उनको राजनीतिक अस्तित्वलाई जोगाउन सक्नेछ । जनधारणा साप्ताहिक


