काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट आङ छिरिङ शेर्पा पुरस्कृत हुने भएकाे छ । जलवायु परिवर्तका क्षेत्रमा योगदान पुर्याएको भन्दै शेर्पालाई फाउण्डेशनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीका सन्दर्भमा पुरस्कृत गर्ने निर्णय गरेको हो।
फाउण्डेशनले बिहीबार पत्रकार सम्मेलन गर्दै शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय रहेकाले उनलाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिन लागिएको जनाएको छ।
शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङका हुन्। उनले सगरमाथा आधार शिविरबाट मानव मलमुत्रलाई लत ल्याउन व्याग प्रविधि प्रयोग गरी हिमाल सफाइ अभियान थालेका थिए। उनी नेपालको हिमालको सुक्ष्म अवलोकन र अध्ययन गर्ने पनि पहिलो व्यक्ति पनि हुन्।
रामशरण प्याकुरेलको संयोजकत्वमा गठित सात सदस्यीय छनौट समितिको सिफारिसमा मदन फाउण्डेशनले शेर्पालाई पुरस्कृत गर्ने निर्णय गरेको हो। मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीका अनुसार फाउन्डेसनले मदन भण्डारीका राजनीतिक योगदान, सोच, विचार संरक्षण र विकास गर्न यस्ता पुरस्कारहरू प्रदान गर्दै आइरहेको छ। २०६८ सालदेखि प्रत्यक वर्ष कुनै एक क्षेत्रमा विशेष योगदान गर्दै आएको व्यक्ति वा संस्थालाई फाउण्डेशनले पुरस्कृत गर्दै आइरहेको छ।


