काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ को लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था दि हिडेन ट्रेजरले यस प्रतियोगितालाई आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा विशेष उत्सवका रूपमा आयोजना गर्न लागेको हो।
इच्छुक नेपाली युवतीहरूले असार २६ गतेभित्र आवेदन दिन सक्नेछन्। मिस नेपाल २०२५ को फिनाले कार्यक्रम २०८२ भदौ १४ गते गोदावरीस्थित सनराइज् कन्भेन्सन सेन्टरमा हुनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने उम्मेदवारले नेपाली नागरिकता अनिवार्य रूपमा लिनुपर्नेछ। उमेर १८ देखि २७ वर्ष, न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्नेछ। दर्ता निःशुल्क हुनेछ।
यस वर्ष प्रतियोगिताबाट चार विजेता छनोट गरिनेछन्– मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र पहिलो पटक सहभागिता हुन लागेको मिस नेपाल कोस्मो। मिस कोस्मो इन्टरनेशनल २०२४ समेत फिनाले कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ।


