काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले निजामति विधेयक होल्ड गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति जनाएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रावधानसहितको विधेयक संसदमा पेश गरे पनि ओलीको चाहनामा रोकिएको छ। कुलिङ पिरियड हटाउने पक्षमा ओली रहेका छन्।
आइतबार तनहुँमा भएको कार्यक्रममा कोइरालाले अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्दा पनि प्रधानमन्त्रीको हठ किन ? भन्दै आपत्ति जनाए।
कोइरालाले भने, ‘अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्छन् । प्रधानमन्त्रीको हठ किन ? कसको लागि? सचिव बनाउने, रिटायर्ड हुने बित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कसको काम गर्लान् ? भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो?’
समितिले संसदमा पेश गरेको विधेयक असार ३ गते नै पारित गर्ने तयारीसाथ कार्यसूचीमा राखिए पनि संसद अवरोधलाई देखाएर सरकार पन्छेको थियो।
विवादित रुपमा संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीविरुद्धको रिटको निर्णय असार १८ गते सुनाउने तयारी भएका बेला ओलीले त्यसपछिको परिस्थिति हेरेर मात्रै विधेयक पारित गर्ने तयारी गरेका छन्।