काठमाडौं । ललितपुरको मंगलबजारमा रहेकाे पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन सार्वजनिक रुपमा प्रदर्शन गरिएको छ ।
नेवा: परम्परा अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल पूर्णिमाका अवसरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गरिन्छ । सोही परम्पराअनुसार आज सिंहासन प्रदर्शनीमा राखिएको हो ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार ज्येष्ठ शुक्ल पूर्णिमाका दिन दरबार क्षेत्रमा मल्ल राजा सिद्धीनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ ।
सिंहासन प्रदर्शनसँगै संगीत महोत्सव पनि आयोजना गरिएको छ । झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धीनरसिंह मल्लको पालादेखि जेष्ठ शुक्ल पूर्णिमाका दिन संगीत महोत्सव गर्ने चलन रहिआएको छ ।
संगीत महोत्सवमा राजा सिद्धीनरसिंह मल्लले तयार पारेको भनिने राग मल्हार सहित ३१ वटा राग गाउने गरिन्छ । अन्य दिन सिंहासन र पौभाः पाटन म्युजियम भित्र सुरक्षित तरिकाले राख्ने गरिन्छ ।


