काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ।
मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केही सञ्चारमाध्यममा आन्दोलनलाई निष्प्रभावी पार्ने गरी समाचार सम्प्रेषित भएको भन्दै पार्टी निरन्तर आन्दोलनको अग्रभागमा रहने जनाएको हो।
राप्रपाबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छरिने भ्रमको सामूहिक प्रतिवाद गर्न पनि राप्रपाले आह्वान गरेको छ।
राप्रपाले भनेको छ, ‘पार्टी र नेतृत्वबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा छरिने वा छरिएका सबैखाले भ्रमको सामूहिक प्रतिवाद गर्न राप्रपा सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक आह्वान गर्दछ। साथै, अनर्गल भ्रम छर्ने कार्यमा राप्रपाको कुनै पनि तहको नेता, कार्यकर्ता संलग्न भएको देखिएमा कडा अनुशासनको विषय बन्ने मात्र होइन कारबाहीको भागीदारसमेत हुनुपर्ने कार्यसम्पादन बैठकको निर्णय रहेको छ।’
यस्तै, स्वर्गीय राजा वीरेन्द्र र दिवंगत राजपरिवारको सम्झनामा जेठ १९ गते साँझ कमलादीस्थित गणेश मन्दिरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाइसिएलले ढुंगा प्रहार गरेको भन्दै विरोध जनाएको छ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गरेको उक्साहटप्रति राप्रपाले खेद प्रकट गरेको छ। आगामी दिनमा यस्ता घटना दोहोरिएमा सशक्त प्रतिवाद गर्ने राप्रपाले चेतावनी दिएको छ।
‘पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपा खेद व्यक्त गर्दछ। यस्ता कार्य जारी रहेमा राप्रपाले आगामी दिनमा सशक्त प्रतिवाद गर्नेछ,’ राप्रपाले भनेको छ।