राजेन्द्रवीर सल्यानको राई परिवारमा हुर्किए । नेपालगन्ज बस्न थालेपछि राईबाट उनी राय भए । नागरिकता पनि राय कै थर राखेर बनाएको भेटिएको छ । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘म सल्यानको राई हुँ ।’
२०८१ पुस १० मा बैँक समस्याग्रस्त घोषित भयो । उनलाई २०६९ मा राष्ट्रबैँकले व्यवस्थापनबाट हटाएको थियो । तर, पछि कागजात मिलाएर फेरि बैँकमा इन्ट्री गरेर हालिमुहाली गरिरहे । कर्णाली डेभलपमेन्ट बैँकको कार्यक्षेत्र बाँके, बर्दिया र दाङ जिल्ला मात्रै हो । २०८१ पुस ११ बाट राष्ट्र बैँकको टेकओभर गरेसँगै राय फरार भए । २०८१ माघ ६ मा उनी विरुद्ध बैँकिङ कसुर तथा सजाय ऐन–२०६४ अनुसारको कसुरमा सीआईबीमा जाहेरी दर्ता भएको थियो ।
२०७० बाट अपचलन
कर्णाली डेभलपमेन्ट बैँकमा खाता सञ्चालकहरूको ४ अर्ब ९० करोडभन्दा धेरै बचत रकम जोखिममा परेको छ । सो रकममध्ये २६० करोड राय समूहले अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अपचलनमा उनीसहित अरू ७ जना संलग्न देखिएका छन् ।
उनीहरूले २०७० बाट अपचलन सुरु गरेको भेटिएको छ । बैँकमा दिनभर जम्मा भएको रकम साँझ रायले घरमा लगेर राख्ने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । साबुन र नुडल्स फ्याक्ट्री खडा गरेर उनीहरूले लगानी गर्ने गरेका थिए । बैँकको बचत रकम जग्गा कारोबारमा आफैँले लगानी गरेर राय सहितको समूहले अपचलन गरेका हुन् ।
चेक क्लियरिङमा नक्कली डिपोजिट देखाएर अपचलन गरेको अनुसन्धानबाट थाहा भएको छ । सेयर जारी गरेर बैँकमा रकम इन्ट्री नदेखाउने र सो रकम आफ्नै नामबाट भुक्तानी गरेर उनीहरूले बैँकलाई नोक्सान गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू जनाउँछन् ।