काठमाडौं । सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसारको समयमा हुनुपर्ने जनाएका छन्। उनले आफू स्थानीय तहलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको जनाए।
शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावनाविपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए। उनले पाँच वर्ष कार्यकाल पूरा गरेको छ महिनाभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोहीअनुसार हुनुपर्ने दाबीसमेत गरे।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘मैले सुरुदेखि नै भन्दै आएको छु। हामीले जाने भनेको त संविधानको भावना र मर्मबमोजिम नै सबै कामहरु हुनु पर्यो। स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो । कार्यअवधिभन्दा स्थानीय निर्वाचन ऐनले दुई महिनाअगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ तर संविधानले कार्यकाल सकिएको छ महिनाभित्र गर्नुपर्छ भनेको छ। संविधानको भावना र मर्मअनुसार नै हुनुपर्छ।’
त्यस अवसरमा नेता सिंहले डा मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’ सार्वजनिक गरे। पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेका योगदानको चर्चा गरिएको उनले बताए। उनले उक्त पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जोकोहीका लागि उपयोगी हुने विश्वाससमेत व्यक्त गरे।