काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको जनाएका छन्।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन्। गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण रहेको जनाए।
उद्योग, निर्माण थोक तथा खुद्रा व्यापारलगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक वृद्धिदर हुने अनुमान रहेको बताए।
विद्युत, यातायात तथा भण्डारण र वित्तीय तथा बीमा सेवालगायतमा उल्लेखनीय वृद्धिदर हुने अनुमान रहेको बताए। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३ सय ३९ मेगावाट थप विद्युत उत्पादन भएको दाबी गरे।
२०८२ वैशाखसम्म पर्यटक आवागमनको संख्या गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भई ९ लाख २३ हजार पुगेको उल्लेख गरे।
उनले चालु आर्थिक वर्षको मुद्रास्फिति चालु आर्थिक वर्षको चैत्र महिनामा ३.४ प्रतिशितमा सिमित रहेको जनाए।


