रुपन्देही । बुटवलमा हत्या कसुरमा जेल परेर संविधान दिवसमा आम माफी पाएका एक व्यक्तीले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् ।
बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलिजुलीपथमा बस्दै आएका सुरज कोइरालाले पूर्व पत्नीसहित दुई छोरीको बीभत्स हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले जनाकारी गराए ।
उनका अनुसार बुधबार बिहान चार बजेतिर कोइरालाले पूर्वपत्नी ३३ वर्षकी दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हेम्बर र चक्कु प्रहार गरि हत्या गरेका हुन् ।
कोइराला आफ्नै दाजुको हत्यागरि १० बर्ष जेल बसी संविधान दिवसमा आम माफि पाएर निस्किएका थिए । उनी कारागार गएपछि दीपा बस्यालले दोस्रो विहे गरेका थिइन् । हत्या भएको दुबै छोरी पछि विवाह गरेको श्रीमान तर्फका थिए । बस्यालका श्रीमान वैदेशिक रोजगारीमा छन् ।
प्रारम्भिक अनुसन्धानबाट कोइरालले नै हत्या गरेको खुलेपछि अहिले उनी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।