काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले आगामी बजेट यथार्थ र जनताको आशा जगाउने गरी आउनेमा आफू विश्वस्त रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकले अघि सारेका सिद्धान्त र प्राथमिकता आधारभूत रुपमा सही भएको जनाए।
उनले वर्तमान समयमा युवाहरुको तीव्र विकासको चाहनालाई समेत बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले एकाध प्रतिशतको कमाइले प्राप्त हुने आर्थिक वृद्धि वा प्रतिव्यक्ति आम्दानी अब नचाहिएको भन्दै आधारभूत वर्गको जीवनलाई माथि उठाउने गरी, श्रमिकको पारिश्रमिक र उत्पादकत्व वृद्धि गर्ने गरी प्राकृतिक स्रोत साधन र राज्यका लाभहरुको न्यायोचित वितरण गर्ने गरी समाजवादको आधार तयार गरिनुपर्नेमा जोड दिए।
विगत केही वर्षयता बजेट निर्माणमा अनुशासनहिनता देखापरेको भन्दै उनले आउने बजेटले यस्ता अनुशासनहिनताको अन्त्य गर्नेमा आफू विश्वस्त रहेको जनाए ।

