काठमाडौं । आम जनता पार्टीले दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कोटेश्वर स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको छ ।
वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरूको लागि रहेको टिप्पणी गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर ‘दलीय गणतन्त्रको भण्डाफोर गरौँ! जन गणतन्त्रको दिशामा अघि बढौँ !!’ भन्ने मूल नाराका साथ दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको विषय आजपाका प्रवक्ता चन्द्र भूषण साहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भण्डाफोर अभियान सञ्चालनका लागि सङ्घीय राजधानी काठमाडौँमा प्रभु साह, कोशी प्रदेशमा तिलक थापा मगर, मधेस प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङ र सुदूरपश्चिम प्रदेशमा समिना हुसैनको नेतृत्वमा कमाण्ड तोकिएको छ ।


