काठमाडौं । राष्ट्रिय जनमोर्चा काश्मीरी जनताको आत्मनिर्णयको अधिकारको पक्षमा आफ्नो समर्थन जनाएको छ। अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भारत–पाकिस्तानबिच बढ्दो तनाव र काश्मीर क्षेत्रको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
भारतद्वारा पाकिस्तानका विभिन्न स्थानहरूमा गरिएका हवाई तथा सैनिक कारबाहीको विरोध गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कसैको पनि आतङ्कवादी घटनाको नाममा निर्दोष जनता मारिनु न्यायसङ्गत मान्न सकिन्न।’ पहलगाममा भएको आतङ्कवादी घटनाप्रति पार्टीले गहिरो दुख व्यक्त गर्दै त्यसमा संलग्न दोषीलाई कारबाहीको माग गरेको छ। तर भारतले त्यस घटनालाई आधार बनाई पाकिस्तानमाथि आक्रमण गर्नु सही हुन नसक्ने जनमोर्चाको ठहर छ।
विज्ञप्तिमा भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्र भएकाले उनीहरूबिचको युद्धले दक्षिण एसिया मात्र नभई सम्पूर्ण मानव सभ्यतालाई जोखिममा पार्न सक्ने भन्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।
काश्मीरी जनताले लामो समयदेखि जनमत सङ्ग्रहद्वारा आफ्नो भविष्य निर्धारण गर्ने अधिकारको लागि सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै जनमोर्चाले भारत–पाकिस्तानबिच संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौतालाई कार्यान्वयन गर्न जोड दिएको छ। Nabil bank ‘काश्मीरी जनताको माग दबाउनु अनुचित हो। संयुक्त राष्ट्रसंघको प्रस्तावबमोजिम जनमतसंग्रहको व्यवस्था गर्नु नै समाधानको उचित बाटो हो,’ विज्ञप्तिमा भनिएको छ। वर्तमान अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा द्वन्द्व समाधानका लागि संवाद र कूटनीतिक माध्यमलाई प्राथमिकता दिनुपर्ने जनमोर्चाको धारणा छ। पार्टीले युद्धको सम्भावना टार्न अन्तर्राष्ट्रिय संघसंस्थाको ध्यानाकर्षणसमेत गराएको छ।