पाकिस्तान । लाहोर सहरको वाल्टन रोड क्षेत्रमा भारतीय जासुसी ड्रोन खसालिएको छ। सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापछि श्रृंखलाबद्ध विस्फोटहरू भएका छन्। भारतीय ड्रोन वाल्टन विमानस्थल नजिकै खसालिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।
विस्फोटका आवाजहरू गोपाल नगर र नसीराबाद क्षेत्रसम्म सुनिएका थिए। विस्फोटपछि स्थानीय बासिन्दाहरू आत्तिएर घर बाहिर निस्किएका थिए भने आकाशमा धुवाँको मुस्लो देखिएको थियो। प्रहरी र उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र अनुसन्धान जारी छ। मंगलबार राति भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको थियो। भारतले ती स्थानहरूमा आतंकवादीहरू लुकेको दाबी गरे पनि पाकिस्तानले सामान्य बासिन्दा प्रभावित भएको जनाएको छ।
पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीका अनुसार ती हमलामा २६ नागरिक मारिएका थिए भने ४६ जना घाइते भएका छन्। जवाफस्वरूप पाकिस्तानले बुधबार बिहान कश्मीर क्षेत्रमा गोलाबारी गरेको र आक्रमणमा भारतका १५ नागरिकको मृत्यु भएको तथा ४३ जना घाइते भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।