–निमकान्त पाण्डे
कम्युनिस्ट आन्दोलनको जगमा उभिएको पार्टी हो, नेकपा एमाले । एमाले अहिले सत्तामा छ । पार्टीलाई हाँकिरहेका छन्, अध्यक्ष केपी शर्मा ओलीले । उनी प्रधानमन्त्री पनि छन् । एमाले देशको प्रमुख वामपन्थी दल पनि हो । तर, अध्यक्ष ओलीको विवादास्पद नेतृत्वशैलीका कारण एमालेले जनमानसमा आलोचना मात्र भोग्नुपरेको छैन, ओली स्वयं पनि पार्टीमा एकलकाटे बन्दै गएका छन् । खासगरी उनको कार्यशैलीका कारण पार्टीभित्र र बाहिर आलोचनाको पात्र बनेका छन् ।
त्यसको एउटा उदाहरण हो, सत्ताका सहयात्री कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर नियुक्तिको सन्दर्भमा प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको प्रभाव पुग्ने गरेको टिप्पणी गरेका थिए । यससँगै सरकार र एमालेसम्बन्धी अन्य आलोचनाविरुद्ध खण्डनमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई ओलीले निर्देशन दिए । तर, ओलीले त्यसअनुरुप साथ पाएका छैनन् । गत शनिबार संसदीय दलको बैठकमा ओलीले पार्टीकै नेताहरुबाट साथ नपाएको निष्कर्ष सुनाएका थिए । शिक्षक आन्दोलनले अप्ठ्यारो परिरहेका बेला पार्टीकै नेताले शिक्षामन्त्रीबाट राजीनामा दिने अनि राजीनामा दिएका नेतालाई हिरो बनाउन शीर्ष नेता नै लागिपरेको उनको भनाइ थियो । तर ओलीले सुनाएको संकटमा सहयोग गर्न कोही तम्सिएनन् । यसले पनि पार्टीभित्र ओलीले एक्लो बन्दै गएको स्पष्ट हुन्छ ।
पार्टीमा ओलीलाई सर्वेसर्वा बनाउने, उनकै गुणगान गाउनुपर्ने र उनीविरुद्ध प्रश्न गर्ने नेतालाई कारबाही गर्ने शैलीका कारण पनि एमालेमा अन्य नेताहरु असन्तुष्ट देखिएका छन् । पछिल्लो समय शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिनु यसैको उदाहरण हो । राजीनामा दिनुमा स्वास्थ्यको कारण देखाए पनि खासमा भट्टराईले आफ्नै पार्टीका प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलबाट सहयोग नपाएको यथार्थ हो । खासगरी विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको हस्तक्षेप, शिक्षक आन्दोलनलाई सहमतिमा पु¥याउने प्रयासमा असहयोगका कारण उनले राजीनामा दिएकी थिइन् ।
ओलीजस्ता कम्युनिस्ट नेताका कारण नेपालमा वामपन्थी दलप्रति जनता विश्वस्त हुन सकिरहेका छन् । यसले सारमा नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर पारिरहेको छ । नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास लामो, बलियो र संघर्षपूर्ण रहँदै आएको छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएपछि यो आन्दोलनले विभिन्न चरणमा उल्लेखनीय भूमिका निर्वाह ग¥यो— शाहवंशीय निरंकुश राजतन्त्रविरुद्धको संघर्षदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म । तर, यति लामो संघर्ष र जनसमर्थन प्राप्त आन्दोलन आजको अवस्थामा आएर जनअपेक्षाअनुसार सफल हुन नसकेको यथार्थ विद्यमान छ । यसका पछाडि केही गम्भीर र गहिरा कारणहरू छन् ।
कम्युनिस्ट आन्दोलन सैद्धान्तिकरूपमा वर्गहीन समाजको निर्माण, सामाजिक न्याय, समानताको पक्षमा उभिएको भए पनि नेपालमा भने व्यवहारमा यसको कार्यशैली र नेतृत्व पूँजीवादी सोच, सत्तालोलुपता र अवसरवादबाट ग्रस्त देखिएको छ । नेतृत्वले साम्यवादका आदर्शको नाममा जनतालाई सपना देखाए पनि सत्ता पुगेपछि जनताको आवश्यकता बिर्सिएको देखिन्छ । नेपालका कम्युनिस्ट पार्टीहरू विभाजन र गुटबन्दीको दलदलमा डुबिरहेका छन् । एकताभन्दा धेरै पटक विभाजन भएका यी पार्टीमा व्यक्तिगत स्वार्थ, पद–लोभ र अहंकार प्रमुख बनिरहेको छ । जनताको पक्षमा स्थायी नीतिगत काम गर्नुपर्ने बेलामा पार्टीहरू आपसमा सत्ता र शक्तिको लागि भिडिरहेका हुन्छन्, जसले आन्दोलनको साखमा गम्भीर प्रश्न उठाएको छ ।
कम्युनिस्ट आन्दोलन ऐतिहासिक रूपमा युवाको आन्दोलन थियो । तर आजको दिनमा युवाको वास्तविक चासो, समस्या र आकांक्षालाई सम्बोधन गर्न कम्युनिस्ट पार्टीहरू असफल भएका छन् । रोजगार, प्रविधि, शिक्षा र उद्यमशीलता जस्ता विषयमा उनीहरू अग्रसर हुन नसक्दा युवा पुस्ता वैकल्पिक धारतर्फ आकर्षित हुँदै गएको देखिन्छ । आजको विश्व प्रणालीमा पूँजीवाद, उदारवाद, र नवप्रवर्तनशील सोच प्रभावशाली बन्दै गएको छ । पुराना माक्र्सवादी विचारहरूलाई स्थानीय आवश्यकताअनुसार परिमार्जन नगरी जस्ताको तस्तै लागू गर्ने प्रयासले पनि आन्दोलन अप्रासंगिक बनाएको छ । चिनियाँ, क्युबाली वा सोभियत मोडललाई नेपाली सन्दर्भमा सान्दर्भिक नबनाई दोहोर्याउने कार्यले जनसमर्थन घटाएको हो ।
कम्युनिस्ट आन्दोलन नेपालमा अझै पूर्णरूपमा समाप्त भएको छैन, तर यसको प्रभाव र विश्वसनीयता गम्भीर संकटमा परेको छ । सैद्धान्तिक पुनरावलोकन, आत्मसमीक्षा, इमानदारीपूर्ण नेतृत्व, जनताको समस्यासँग प्रत्यक्ष सम्बन्ध राख्ने कार्यक्रमहरू तथा नयाँ पुस्तालाई साथ लिएर अघि बढ्न सके मात्र कम्युनिस्ट आन्दोलन फेरि सशक्त बन्न सक्छ । नत्र, इतिहासमा एउटा बलियो संघर्षका रूपमा सम्झिनेबाहेक यसले वर्तमानमा प्रभाव जमाउने सम्भावना क्रमशः न्यून हुँदै जानेछ ।
तर २०७१ सालदेखि लगातार पार्टीको नेतृत्वमा रहेका ओलीमा अझै धेरै वर्ष शासन गर्ने महत्वाकांक्षा झल्किन्छ । हालै सार्वजनिक कार्यक्रमहरुमा आफूलाई अझै १५–२० वर्ष केही नहुने र पार्टीमा सक्रिय रहिरहने अभिव्यक्ति दिनुले पनि उनी पार्टीमा अरुलाई अवसर दिने पक्ष छैनन् । यसले नेतृत्व प्रक्रियालाई गतिशील बनाउन रोक्नेछ नै, गुटबन्दीका कारण पार्टी नै अलोकप्रिय बन्ने खतरा छ । समग्र कम्युनिस्ट आन्दोलन नै खतरामा पर्ने निश्चित छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नकै लागि कतैबाट खटाइएका पात्र जस्ता लाग्न थालेका छन् नेपालका कम्युनिस्ट आवरणका नेताहरु । उनीहरुको गतिविधि, चरित्र, जीवनशैली र नेतृत्वशैलीका कारण पनि त्यसलाई मलजल गरेको छ । त्यसमा पनि ओली सबैभन्दा अग्रस्थानमा देखिन्छन् । तर, राजनीतिक रुपमा ओलीले जुन अवसर अहिले पाएका छन्, यही शैलीले सधैं कायम रहन सम्भव छैन । यसलाई उनले चाँडै आत्मबोध गर्न आवश्यक छ,आगे चेतना भया ! जनधारणा साप्ताहिक