काठमाडाैं । यही वैशाख २६ बाट सार्वजनिक हुन लागेकाे कथानक चलचित्र ‘जार’ को ललितपुरमा भव्य प्रिमियर गरिएकाे छ।
प्रिमियरमा चलचित्रको टिमसहित अन्य फिल्मकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रह्यो। प्रिमियरअघि केही समय मौलिक नाचगान प्रस्तुत गरिएकाे थियाे।
कथाकार इन्द्रबहादुर राईको ऐतिहासिक कथा ‘जार’ मा आधारित चलचित्र जारमा तत्कालीन समाज, संस्कृति, व्यवस्था र विशेष गरि जारको कथालाई यस चलचित्रमार्फत देखाउन खोजिएको छ।
चलचित्र जारले सकारात्मक प्रतिक्रिया पाएकाे छ। चलचित्र, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थिति रहेकाे थियाे। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, हिसिला यामी, अभिनेत्री मनिषा काेइरालाकाे उपस्थिति थियाे।
‘जार जस्ता चलचित्रलाई सरकारले गर्नुपर्छ,’भट्टराईले जार चलचित्र हेरिसकेपछि भने। लेखक तथा निर्देशक फुर्बा छिरिङ लामाले भने, ‘२ सय वर्ष पुरानाे समाज देखाउनु थियाे। पूर्वकाे समाजसँगै सांस्कृतिक पाटाे र जीवनशैलीकाे बारेमा मलाई नै धेरै कुरा थाहा थिएन। जब अध्ययन गर्दै गएँ अनि काम गर्न थप हाैसिएँ।’
निर्देशक लामाले लेखक इन्द्रबहादुर राईकाे लेखनी र कथाकाे बारेमा पनि खुलेर कुरा राखे।
सिक्किममा छायांकन गरिएको यो फिल्मको यसअघि दार्जिलिङ र सिक्किममा प्रिमियर गरिएको थियो, जहाँ फिल्मले सकारात्मक प्रतिक्रिया पाइसकेको छ।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा ‘जार’ बनेको हो।
फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा सौगातसहित अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका छ। गीताञ्जली भारतको राष्ट्रिय चलचित्र अवार्ड जितेकी अभिनेत्री हुन्।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ ऐतिहासिक र सामाजिक विषयमा बने पनि पूरा प्याकेज भएको निर्माण पक्षले जनाएको छ। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।
‘जार’ शुक्रबारदेखि नेपाल अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउन लागेको हो।