खडग पाण्डे
म एउटा विकासे कार्यकर्ता थिएँ। कामको सिलसिलामा प्रायः दुर्गम गाउँ–बस्तीतर्फ पुग्थें। यो घटना त्यस्तै एउटा दुर्गम बस्तिको हो। एकदिन गाउँतर्फ जाँदै थिएँ। बाटोको चौतारीमा एक जना वृद्धसँग भेट भयो—दाउराको भारी चौतारीमै थाँती राखेर थाकेको शरीरलाई क्षणभरको विश्राम दिइरहेका थिए। हामी विकासकर्मीहरूलाई गाउँलेसँग संवाद गर्नु आवश्यक हुन्छ भन्ने शिक्षा दिइन्थ्यो। यद्यपि, ती संवादहरू प्रायः कृत्रिम र नाटकीय हुन्थे, औपचारिकता मात्र। भावनाको कुनै साईनो नहुने, आत्मीयता नजोडिने। उनको अनुहारमा आध्यात्मिक भाव झल्किन्थ्यो। बोल्दा प्रत्येक वाक्यमा भगवानको नाम उच्चारण गर्थे। निधारमा ठूली रातो टीका थियो, घाँटीभरि विविध प्रकारका माला, जन्तरहरू झुन्डिएका थिए। औंलाहरूमा फलाम र पित्तलका थुप्रै औंठी, हातमा धागा र कपडाका तागा। मैले सोधेँ, “बा, तपाईं कति वर्षको हुनुभयो?” उनले सहज उत्तर दिए, “पैँतीस वर्षको भएँ बाबु।”म छक्क परेँ। फेरी सोधेँ, “कति वर्षको भन्नु भयो बा?” फेरी पनि उही उत्तर आयो—“पैँतीस वर्ष बाबु।”त्यो बेला म स्वयं एकाउन्न वर्षको थिएँ—उनीभन्दा सोह्र वर्ष जेठो। उनको अनुहारको थकान, शरीरको भोगाइ, र आँखा भित्रको मौन वेदनाले उनी जीवनको उत्तरार्द्ध पार गरिसकेको अनुभूति हुन्थ्यो। उनी जस्ता पात्रहरू दुर्गम वस्तिका प्रतिनिधि हुन्—विपन्नता, गरिबी र राज्यले बिर्सिएका भूगोलका बासिन्दा। जसले दिनमा अठार घण्टा श्रम गर्छन्—जीवनलाई भगवानको लीला ठान्छन्। पूर्वजन्मको कर्मको फल भोग्दै, पुनर्जन्ममा सुखको आशामा निरन्तर धर्म, कर्म, दान, पुण्य र तीर्थव्रतमा समर्पित रहन्छन्। पुरेत, पण्डित, जोतिष, धामी-झाक्री र जोगिले भनेको पत्याउने र तिनिहरुको आदेश पालन गर्ने। तिनलाई यो जीवन र दु:ख प्रती कुनै गुनासो छैन। पुर्वजन्मको फल हो। उनको चिन्ता र चासो पुनर्जन्म कसरी इन्द्र- लोक वा स्वर्ग लोक जाने केन्द्रित छ। स्वर्गजाने ध्याउन्नमा वर्तमान खर्चीरहेका छन।
ती मानिसले परिकल्पित स्वर्ग, पुण्य, आत्मा र बैगुण्ठको बारेमा थोरै चर्चा गरौ:-
स्वर्ग के हो?
धार्मिक रूपमा स्वर्ग ” (Heaven) एक यस्तो आध्यात्मिक गन्तव्य हो, जुन पवित्रता, पुण्य, र धार्मिक जीवनको पुरस्कार स्वरूप प्राप्त हुन्छ। जहाँ पुण्यात्माहरू मृत्यु पछाडि जान्छन्। यो स्थान सुख, शान्ति, आनन्द, र भगवानको नजिकको वासको रूपमा चित्रण गरिन्छ। स्वर्ग त्रिलोक मध्येको एक हो जहाँ अप्सराका साथ सबै सुखभोग गर्न पाईन्छ।
हिन्दू धर्म अनुसार पुण्य गरेर मरेका मानिसहरूको आत्मा मात्रै केही समयकालागि त्यहा बस्न पाईन्छ। पुण्य सकिएपछि आत्मा फेरि पृथ्वीमा पुनर्जन्म लिन्छ। बौद्ध धर्म अनुसार स्वर्ग केही समयको लागि सुखको अवस्था हो, तर यो संसारको चक्र भित्र पर्छ र अन्ततः कर्म अनुसार पुनर्जन्म हुन्छ। ईसाई धर्मले स्वर्गलाई ईश्वरको राज्य (God’s Kingdom) वा परमेश्वरको साथ शाश्वत जीवनको रूपमा लिइन्छ, जहाँ पापरहित आत्मा पुग्छ। इस्लाम धर्ममा स्वर्ग (Jannah) लाई एउटा सुन्दर, सुखमय स्थानको रूपमा लिइन्छ, जहाँ धर्मपरायण मानिसहरू अन्ततः जान्छन्। हिन्दू ब्रह्माण्ड अनुसार, स्वर्ग पृथ्वीभन्दा माथिल्लो सूक्ष्म लोकमा रहेको छ। वेद अनुसार यो “सूर्य मण्डलभन्दा माथि” भएको उल्लेख पाइन्छ।
पुण्य कसरी प्राप्त हुन्छ?
स्वर्ग जानको लागि पुण्य गर्नु अनिवार्य सर्त हो। हिन्दू धर्म अनुसार पुण्य आर्जन गर्न धार्मिक कर्तव्यहरू जस्तै वेद, शास्त्र, पुराणहरूमा निर्दिष्ट यज्ञ, हवन, पूजा, व्रत आदि गर्नु। विष्णु, शिव, देवी, वा अन्य देवताहरूको भक्ति गर्नु, सत्य बोल्नु, दान गर्नु, वर्त र उपवास गर्नु, तीर्थयात्रा गर्नु र सत्कर्मको गर्नु पर्दछ। सत्सङ्ग र भगवत कथा श्रवण (भगवान विष्णुको लीलाको कथा), पुराण, रामायण, भागवत कथा सुन्नु पर्दछ। संक्षेपमा थोरै सेवा र करुणाभाव र अधिकाम्स देवी देवताको स्तुती, चाकडी, दु:ख, वर्त आदि गर्नु पर्दछ।
बैकुण्ठ भनेको के हो?
हिन्दू धर्ममा बैकुण्ठ भनेको स्वर्गभन्दा पनि माथिल्लो स्तरको आध्यात्मिक लोक हो। यो एक आध्यात्मिक लोक हो, जहाँ मृत्यु, पीडा, दुःख, र पाप हुँदैनन्। बैकुण्ठमा पुगेपछि जीव आत्माले पुनर्जन्म (rebirth) लिनु पर्दैन। यो मोक्ष प्राप्त गरेपछि पुगिने लोक हो — मुक्त आत्माहरूको वासस्थान। बैगुण्ठ ब्रह्माण्डको बाहिर, “पारब्रह्म” स्थितिमा रहेको मानिन्छ। “तद् वै विष्णोः परमं पदं सदा पश्यन्ति सूरयः।।।” (भागवत पुराण), अर्थात: “त्यो बैकुण्ठ विष्णुको सर्वोच्च स्थान हो, जहाँ ऋषिहरू निरन्तर दर्शन गर्छन्।”
मृत आत्मा भनेको के हो?
मृत आत्मा भन्नाले शरीर छोडिसकेको तर पूर्णरूपमा अर्को यात्रा (जन्म वा मोक्ष) नगरेको आत्मा लाई भनिन्छ। हिन्दू धर्म अनुसार आत्मा अमर छ — शरीर मर्छ, तर आत्मा मर्दैन। “न जायते म्रियते वा कदाचित्…” भगवद्गीता)। मृत आत्मालाई स्वर्ग लोक (इन्द्र लोक) पठाउन परम्परागत रूपमा केही विधि, संस्कार, र कर्महरू गर्नुपर्ने विश्वास छ। यो विशेषतः मृत आत्माको शान्तिको लागि गरिन्छ, ताकि उसले पुनर्जन्म नहुँदै अघि पुण्यफल अनुसार स्वर्ग प्राप्त गरोस्।
स्मरण रहोस, स्वर्ग वा बैगुण्ठको अस्तित्व भौगोलिक नक्सामा देखिँदैन, तर धर्मशास्त्र, पुराण, र वेदहरूले वर्णन गरेका काल्पनिक स्थानहरु हुन।
शरीर र आत्मा
धार्मिक र आध्यात्मिक दृष्टिले शरीर होइन, आत्मा ठुलो हो। नश्वर (मर्ने हुन्छ) । धार्मिक दृष्टिले – शरीर आत्माको “वासस्थान” मात्र हो। समय अनुसार बुढो हुन्छ, रोग लाग्छ, अन्ततः मर्छ। “वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपराणि। तथा शरीराणि विहाय जीर्णा, न्यन्यानि संयाति नवानि देही॥” (भगवद्गीता) आत्मा पुरानो शरीर फालेर नयाँ लुगा जस्तै नयाँ शरीर लिन्छ।
आत्मा अजर–अमर (अविनाशी) – जन्मदिने छैन, मर्दैन, कहिल्यै नास हुँदैन, अनन्त यात्रा गर्छ – पुण्य र पाप अनुसार यो स्वर्ग, नर्क, पुनर्जन्म वा मोक्षको मार्गमा जान्छ। धार्मिक दृष्टिले – आत्मा नै ब्रह्म (परम सत्ता) को अंश हो। न जायते म्रियते वा कदाचित्, नायं भूत्वा भविता वा न भूयः। अजो नित्यः शाश्वतोऽयं पुराणो,न हन्यते हन्यमाने शरीरे॥” (भगवद्गीता ) . आत्मा कहिल्यै जन्मदैन, मर्दैन – शरीर नष्ट भए पनि आत्मा नष्ट हुँदैन।
प्रसंग: एउटा भौतिकवादी नेताको शोकसभा
केही पहिले, नेपालका एक जेष्ठ मालेमावादी कम्युनिस्ट नेताको निधन भयो। जीवनभर कठोर भौतिकवादी दर्शन अँगालेर बाँचेका ती नेता साँच्चिकै उदाहरणीय कम्युनिस्ट थिए—धर्म र आत्माको अवधारणाभन्दा पर, वर्गसंघर्ष र भौतिक यथार्थमा विश्वास राख्ने। उनीप्रति श्रद्धा प्रकट गर्न पार्टीको बौद्धिक संगठनले एक शोकसभा आयोजना गर्यो। नेतादेखि बुद्धिजीवीहरूसम्म बाक्लो उपस्थिति थियो। म पनि आफूलाई सानो बुद्धिजीवी ठान्दै कार्यक्रममा पुगेँ।
सभाको सुरुवात क्रान्तिकारी मुट्ठी उठाएर भयो—‘लाल सलाम!’ का नारासहित। तर त्यसपछि जे भयो, त्यसले मलाई तीन छक बनायो। पार्टीका वरिष्ठ नेताले दिवंगतको प्रशंसा गर्दै ‘मृत आत्माको शान्तिको कामना’ गरे। अर्को बौद्धिक नेताले त ‘बैकुण्ठबास’ को नै कामना गरे। अनि संस्कृतिक विभागका प्रतिनिधि त अझै अघि बढे, उनी त ‘सिधै स्वर्गलोक पुग्ने ठोकुवा गर्न भ्याए। त्यस क्षण म स्तब्ध भएँ। त्यहाँ उपस्थित सबै अनुहारहरू वामपन्थी, क्रान्तिकारी र भौतिकवादी भनिनेहरू थिए—तर अनुहारमै अनेक आध्यात्मिक विरोधाभास।
कसैले निधारमा रातो टिका लगाएका, कसैका औंलामा राशि अनुसारका औंठी झुन्डिएका, टोपिभित्रबाट टुप्पी देखिनेहरू पनि थिए, कतै जनैको छेउ निस्किएको थियो। कुनै साम्यवादी सभा नभई, मानौँ ब्राह्मण धर्मगुरुहरूको गोष्ठी हो जस्तो लाग्यो। वैचारिक विरोधाभास ।
आध्यात्मवाद र भौतिकवाद
मैले पढेको र बुझेको अनुसार, कम्युनिष्टहरू मूलतः भौतिकवादी दर्शनमा आधारित हुन्छन्। उनीहरूको विश्वास अनुसार, आत्मा, परमात्मा, पुनर्जन्म, स्वर्ग, मोक्ष आदि अवधारणाहरू केवल मानवीय कल्पना र भ्रममात्र हुन्—वास्तवमा अस्तित्वहीन। उनीहरूका लागि सत्य भनेको त्यो मात्र हो, जुन देख्न, छुन वा मापन गर्न सकिन्छ। अतः ईश्वर, धर्म र अध्यात्मप्रतिको विश्वासलाई उनीहरू अन्धविश्वासको रूपमै हेर्छन्। कम्युनिष्ट चिन्तनअनुसार, मृत्यु भनेको अस्तित्वको पूर्ण अन्त्य हो—न पुनर्जन्म हुन्छ, न मोक्ष; शरीर नाश भएपछि सबै कुरा समाप्त हुन्छ। जीवनलाई सामाजिक र भौतिक सन्दर्भमै बुझ्ने यो दृष्टिकोण नै उनीहरूको विचारको मूल आधार हो।
कम्युनिष्ट विचारधारा अनुसार धर्म एउटा “सामाजिक अफिम” हो। , धर्मले जनतालाई आफ्नो वास्तविक समस्याबाट (जस्तै: शोषण, असमानता, गरीबी) ध्यान भटकाउँछ र तिनीहरूलाई शोषण गर्न सजिलो बनाउँछ। मार्क्सवादमा धर्मले वर्गीय संघर्षलाई रोक्ने र शोषक वर्गको पक्षमा काम गर्ने एक उपकरणको रूपमा काम गर्दछ भन्नेमा विश्वास गर्दछन।
धर्मको सवालमा दुर्-दराज पछाडि पारीएको दुर्गमा वस्तिमा बस्ने मानिस र पढेलेखेका र आफुलाई भौतिकवादी कम्युनिष्ट हुँ भनेहरुमा खासै फरक देखिदैन। पहिले उल्लेख गरिएका पात्रले विज्ञानसंग बन्चित भए भने दोस्रो वर्ग (जो आफुलाई कम्युनिष्ट भन्न मन पराउदछ) आफ्नो चेतनालाई बन्ध्याकरण गरेका छन। अलौकिक र दैवी शक्तिमा विश्वास गर्ने तर आफुलाई कम्युनिष्ट हुँ भन्ने वास्तवमा ढोगी हुन।
पुरानै दर्शन मान्ने भए ईसा पूर्व ६औं शताब्दी तिर सुरु भएको नास्तिक (atheistic), भौतिकवादी (materialist) र इन्द्रियवादी (sensualist) चार्वाक दर्शन मान्नु पर्ने हो। यो दर्शनले वेद, आत्मा, परमात्मा, पुनर्जन्म, मोक्ष, यज्ञ आदि सबै खारेज गर्दछ। ईश्वरको अस्तित्वमा विश्वास गर्दैन। पुनर्जन्म, स्वर्ग–नरक, मोक्ष आदि कल्पित कथा मात्र हुन् भन्दछ। यज्ञ, पूजा, तान्त्रिक विधि आदि पण्डितहरूको व्यापार हुन्। चार्वाक दर्शनले तर्क, इन्द्रिय अनुभव, र भौतिक संसारमा आधारित जीवनको पक्ष लिन्छ।
“आध्यात्मवाद” र “भौतिकवाद”—यी दुई दृष्टिकोण परस्पर कट्टर विरोधी हुन्। एकले आत्मा, पुनर्जन्म, स्वर्ग–मोक्षको अस्तित्व स्वीकार्छ; अर्कोले त्यसलाई भ्रम, मिथक र सामाजिक स्वार्थको उपज ठान्दछ। तर अचम्म के छ भने, आजका केही स्वयं “बुद्धिजीवी” र “कम्युनिष्ट”हरू यी दुबै विरोधाभासी दर्शनमा एकसाथ आस्था राखिरहेका छन्—न त ती पूर्ण भौतिकवादी छन्, न नै सच्चा आध्यात्मिक। यी नै हुन्, जो परलोकमा मोजमस्तीको कल्पनाले धार्मिक पनि हुन्छन्, र वर्तमानमा कम्युनिष्टको खोल ओढेर जनतालाई क्रान्तिको सपना देखाउँछन्। यस्ता दहिच्युरे चरित्रहरूबाट सतर्क हुन जरुरी छ।
मृत आत्माको ‘भूत’ वा ‘प्रेत’ बाट डराएर धूपधूवाँ गर्दै, ‘क्रान्ति’को गीत गाउने कम्युनिष्टहरूप्रति पूर्ण असहमति जनाउँछु। यस्ता दोमुखे चेतनाले देश बन्ने होइन, बरु बिग्रँदै जान्छ।
अन्त्यमा, म केही सरल तर गम्भीर प्रश्नहरू आध्यात्मिक विश्वास राख्नेहरूलाई सोध्न चाहन्छु—
यदि मानिस मरेपछि स्वर्ग वा बैकुण्ठ जान्छ भने, तपाईंहरू मृत्युबाट यति भयभीत किन हुनुहुन्छ? यदि मृत्युपछि केवल शरीर नष्ट हुन्छ, तर आत्मा अमर रहन्छ भने, ‘मृत आत्माको चिरशान्ति’ को कामना किन गरिन्छ? के अमर आत्मालाई शान्तिको खाँचो पर्छ? यदि स्वर्गमा दिव्य सुख, अप्सराहरूको संगत र मोक्षको आनन्द प्राप्त हुन्छ भने, धार्मिकहरू स्वर्ग पुग्न आतुर हुनुको सट्टा मृत्यु टार्न व्यग्र किन देखिन्छन्? र, यदि मृतक आत्मा पहिले नै बैकुण्ठ वा स्वर्गलोक गइसकेका छन् भने, उनीहरूलाई पिण्ड, तर्पण, श्राद्ध किन गर्नुपर्ने? के स्वर्गमा पुगिसकेका ‘अग्रजहरू’ भोकै छन्?
यस्ता विरोधाभासहरूमा कहिल्यै गम्भीरतासाथ सोच्ने प्रयत्न किन गरिँदैन? एकपटक स्थिर भएर सोच्ने हो कि? आस्थाको नाममा हामी आफ्नै विश्वाससँग कति असंगत भइरहेका छौं?