काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरु राज्य दोहनका साधन बनेको जनाएका छन्।
शनिबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरु चाहिने तर राजनीतिक दलहरु स्वार्थ समूह बनिरहेको जनाए।
उनले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने जनाए। उनले राजनीतिक दलहरुको प्रतिस्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे।
उनले नेपालका राजनीतिक दलहरु नयाँ रहेको र दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूहजस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको जनाए।
उनले राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पत्ति आर्जन गर्ने माध्यम बनाएको बताए। राजनीतिक दलहरु विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुन नसकेको उनको भनाइ छ। दलीय आवद्धता अब नेपालका निम्ति ठूलो बाधक बनिरहेको जिकिर गरे।


