काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषदले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधबार राति भएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा उनीहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
१५ जनाको आन्दोलन परिचालन समिति गठन गरेर परिषदले शुक्रबार आफूहरुको आन्दोलनको रुपरेखा सार्वजनिक गरेको हो । उनीहरुले आफूहरुले सुरुका दिनमा सभ्य भएर आआफ्नो ठाउँबाट सांकेतिक प्रदर्शन गर्ने र सरकारले अन्देखा गरे काठमाडौँ उपस्थित भएर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
यस्ता छन् परिषदले तयार गरेको आन्दोलनको रुपरेखाः
१.मिति २०८२/०१/२१ गतेदेखि मिति २०८२/०२/०३ गतेसम्म कालोपट्टि बाँधेर कार्यक्षेत्रमा काम गर्ने
२. मिति २०८२/०२/०४ गतेका दिन ७५३ स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनकोबारेमा जानकारी गराउने
३. मिति २०८२/०२/०५ गते जिल्लागत आन्दोलन परिचालत समिति गठन गर्ने
४. मिति २०८२/०२/०६ गते शिक्षा विकास तथा समन्वय इकाई ७७ ओटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षण पत्र बुझाउने
५.मिति २०८२/०२/०७ गतेकै दिन सातै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक विकास मन्त्रालयमा बुझाउने
६. मिति २०८२/०२/०९,१० गते काठमाडौँ स्थित माइतीघर मण्डलादेखि सडक सडक आन्दोलनमा सबै उपस्थित हुने ।
७. तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखाको तयारी गर्ने
परिषदले कर्मचारीको माग मुद्दा सम्बोधन नगरि महासंघले एकपक्षीय ढंगले सरकारसँग सहमति गरि आन्दोलनका कार्यक्रम फिर्ता गरेको भन्दै असन्तुष्ति जनाएका छन् । महासंघको आन्दोलनमा निरन्तर साथ र समर्थन गरिरहको अवस्थामा विद्यालय कर्मचारी कै माग सम्बोधन नहुनु उचित नभएको परिषदको ठहर छ ।