काठमाडौं । नयाँ विद्यालय शिक्षा ऐनको माग गर्दै सडकमा ओर्लिएर २८ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकको माग पूरा गर्न सरकार तयार भएको जनाइएको छ ।
हुन त सोमवार राति सरकारले दुई चरणमा शिक्षकसँग गरेको वार्ताबाट ठोस निष्कर्ष निस्कन सकेको थिएन, तर सरकारले भोलि बुधवारसम्ममा उनीहरूको माग पूरा गर्ने तयारी गरेको दावी गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले छलफल सकारात्मक ढंगले अघि बढेकोले भोलि सम्ममा माग पूरा गर्न प्रयास गरिने जनाए । उनका अनुसार मन्त्रिपरिषद्को बैठकमा शिक्षा मन्त्रीले वार्ता सकारात्मक ढंगले अघि बढेको ब्रिफिङ गरेका थिए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार शिक्षा मन्त्रालयमा सोमवार राति लामो छलफल भए पनि, कुनै निष्कर्षमा पुग्न भने सकिएन । त्यसैले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनको भनाई छ ।