काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्रको नाममा चलाइने निरंकुशताको विरोध गरिरहने जनाएका छन्।
शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले संविधानले दिएको अधिकार प्रयोग गरेरै निरंकुशताको विरोध गरिरहेको बताए।
उनले वर्तमान व्यवस्थाले मुलुकका समस्या समाधान गर्न निकास नदिने भन्दै राजादेखि गणतन्त्रवादीसम्म अटाउने नयाँ व्यवस्थामा जाने सहमति गर्न पटकपटक जोड दिए।
‘हामीले यो संविधानको शपथ खाएका छौं। यो संविधानले आलोचना गर्ने र संविधान संशोधन गर्ने अधिकार दिएको छ। अब ढिला गर्न हुँदैन, राजादेखि गणतन्त्रसम्म सबै अट्ने मौलिक व्यवस्थामा जान सहमति गरौं,’ उनले भने।
लिङ्देनले नेता फेरिएर वर्तमानको समस्या समाधान नहुने भन्दै व्यवस्था नै परिवर्तन गर्नुपर्ने धारणा राखे।
उनले थपे, ‘नेताले भ्रष्टाचार गर्छ। अख्तियार र अदालतले भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्नु पर्ने तर अख्तियारमा आफैंले सिफारिस गरेका मान्छे छन्। न्यायाधीश आफैंले सिफारिस गरेका छन्। त्यसैले अब यो व्यवस्थामा आमुल परिवर्तन आवश्यक छ।’