काठमाडौं। टोखाबाट २५ करोड बराबर हुने डलर र युरो सहित पक्राउ परेका ट्रक चालक कारगार चलान भएका छन् । काठमाडौँ जिलला अदालतले ‘फुच्चे’ भनिने सिन्धुपाल्चोकका कुसाङ लामा पुर्पक्षका लागि कारगार चलान गरेको हो ।
बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले लामा लाई थुनामै राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो । तर मालिक भनिएका नारायण पौडेल भने अझै फरार छन् ।
राजश्व अनुसन्धान विभागले फुच्चे भनिने कुसाङ लामा र नगदका मालिक नारायण पौडेलविरुद्ध मंगलबार मुद्दा दायर गरेको थियो ।
राजश्व अनुसन्धान विभागले नगद बोकेको ट्रकका चालक लामा र उनलाई नगद दिने पौडेललाई विदेशी विनिमय(नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गर्दै मुद्दा अभियोजन गरेको थियो । उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको चैत ४ गते लामालाई युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५० सहित टोखा नगरपालिका २ झोरस्थित सडकबाट पक्राउ गरेको थियो ।
उनले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो। चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उक्त रकम बरामद गरेको थियो।
उक्त मुद्रा सोही दिनको राष्ट्र बैंकको विनिमय दरअनुसार नेपाली रुपैयाँ २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा लामालाई सुन तस्करीका लागि चीन तर्फ पठाउन पौडेलले नै नगद दिएको भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।


