चिसापानी । कर्णाली नदीको किनारमा केही महिलाहरूले केही काम गरिरहेको देखिन्छ । काठको एउटा लामो र केही सानो आकारको वस्तुमा कर्णाली किनारको बालुवाबाट केही खोजिरहेका छन् ।
त्यसमध्येकी एक हुन् तृष्णा सोनाहा। लम्कीचुहा नगरपालिका चिसापानी बल्चौरकी ४० वर्षीय सोनाहासँग जिज्ञाशा राखेपछि उनले सुन खोजिरहेको जनाइन् ।
काठको वस्तुलाई सुन खोज्ने तथा चाल्ने दुढी, सिनौटा भनिने रहेछ। उनले भनिन्, ‘यसले सुन चाल्न सजिलो हुन्छ।’ तर सुन खोज्न, चाल्न भने त्यति सजिलो छैन । त्यसरी चालेर निकाल्दा हात दुख्ने गरेको उनी जनाउँछिन्।
२/३ दिन आराम हुने उनले बताइन् । सोनाहा जातिले सुन चाल्ने पुर्खादेखि गर्दै आएको पेशा रहेको उनले बताइन्। साथै माछा मार्ने, डुंगा चलाउने पनि पुर्खा देखि गर्ने गरेको उनको धारणा छ।
दिनमा २ लाल,३ लाल, भेटाउने गरेको र कहिले नभेटिने पनि हुन्छ। १ लालको १५ प्रतिशत काटेर १३०० सयसम्ममा विक्री हुन्छ। सुनको आम्दानीले बच्चा पढाउनेदेखि घर खर्च चलाउने गरेको र दिनमा ३ आनासम्म सनु भेट्टाएको उनले जनाइन् ।
नेपालको लोपोन्मुख जातिहरूमध्ये अति सङ्कटापन्न जातिका रूपमा सोनाहा जातिलाई पनि मानिन्छ । यो जातिको बसोबास खासगरी कञ्चनपुर, कैलाली र बर्दियालगायत पश्चिम तराईमा छ ।
यस कर्णाली नदी क्षेत्रमा चिनियाँहरू पनि नगरपालिकासँग अनुमति लिएर सुन खोज्न आउने गरेको स्थानीय जनाउँछन्।



