एजेन्सी । अमेरिका र चीनबिचको व्यापार युद्धबिच चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.४ प्रतिशतले वृद्धि भएको जनाइएको छ। अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पले कठोर रुपमा चीनविरुद्ध ‘ट्यारिफ’ लगाएसँगै जवाफी ‘ट्यारिफ’ लगाएको चीनको अर्थतन्त्रको सुधारले भने अमेरिकालाई चुनौती थपेको छ।
अहिले चीनबाट अमेरिका पठाइने सामानमा १४५ प्रतिशतसम्म आयात कर लाग्ने गरेको छ। जबकि अमेरिकाबाट चीन प्रवेश गर्ने वस्तुहरूमा पनि चीनले १२५ प्रतिशत आयात शुल्क लिने गरेको छ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीन अहिले यी शुल्कहरूको पूर्ण असर भोग्नका लागि बलियो तयारीहरु गरीरहेको छ। अर्थतन्त्र सुस्त भएपनि उसले अमेरिकाविरुद्ध पूर्ण रुपमा तयार रहेको बताएको छ।
चीनका राष्ट्रपति सी चिनफिङ अहिले दक्षिणपूर्वी एसियाली मुलुकको भ्रणमा छन्। उनले भियतनाम, मलेसियालगायत देशको भ्रमण गरिरहेका छन्। उनी मुख्य व्यापारिक साझेदारहरूसँग सम्बन्ध बलियो बनाउने प्रयासमा छन्।
गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले चीन बाहेकका सबै देशहरूमाथि लाग्ने उच्च भन्सार शुल्कलाई ९० दिनका लागि रोक लगाउने घोषणा गरेका थिए। योसँगै चीन र अमेरिकाबिचको ब्यापार युद्ध उत्कर्षमा पुग्ने अनुमान गरिएको छ।
यसैबिच चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङका कुनैपनि जहाज नकिन्न र अर्डर भएका विमानसमेत नलिने बताएको छ। यसले अमेरिकामा अर्को बहस छेडिएको छ। साथै दुर्लभ खनिज पदार्थको अमेरिकी निर्यातसमेत चीनले रोकेको छ। जसका कारण ठूला अमेरिकी चीप कम्पनीहरूमा यसको असर देखिने जनाइएको छ।
चीनले विश्वभर दुर्लभ खनिज पदार्थ निर्यातको ९० प्रतिशत हिस्सा ओगट्दै आएको छ। चीनले ‘रेयर अर्थ’ र ‘क्रीटिकल मेटेरियल्स’ निर्यातमा रोक लगाएको हो। यसमा लिथियम, बेरिलियम, नियोबियम, टेन्टालम जस्ता अत्यन्तै महत्त्वपूर्ण पदार्थहरू पर्दछन्।
लिथियम आजको विश्वमा तीब्र विकास भइरहेको विधुतिय गाडी (इभी), सोलर प्यानललगायत उच्चप्रविधी युक्त वस्तुको निर्माणमा प्रयोग गरिन्छ। नियोबियम हवाई जहाज र सुपरकण्डक्टरको निर्माणमा टेन्टालम विधितिय उपकरणको निर्माणमा प्रयोग गरिँदै आएको छ।
चीन एक्लै ९० प्रतिशत यस्ता खनिज पदार्थको उत्पादन गर्दछ। यसको रोकले अमेरिकालाई ठूलो समस्या पर्न सक्ने जनाइएको छ।


