काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रमा कांग्रेस र कम्युनिस्ट एक रुखका दुई हाँगा भएको जनाएका छन्।
काठमाडौँको बसुन्धारामा नेपाली कांग्रेसको एक कार्यक्रममा बोल्दै भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिस्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको जनाएका हुन्।
कार्यक्रममा अध्यक्ष भट्टराईले अहिले विभिन्न ढंगले प्रतिगामीहरु सल्बलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्ने जनाए।
यस्तो बेला गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे। दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिने उनको भनाइ छ।
राजनीतिक बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने प्रक्रिया भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले जनाए।


