काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको दिनको दोस्रो खेलमा ललितपुर सिटी एफसीले प्लेअफमा स्थान बनाएको छ। ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली बन्दा बुटवल लुम्बिनी भने ‘प्लेअफ’ बाट बाहिरिने पहिलो टोली बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले २-० को सहज जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाउन सफल भयाे । याे जितसँगै ललितपुरले पाँच खेलबाट ११ अंक बनाएर शीर्ष स्थानमा पुग्याे ।
ललितपुरले एक खेलअगावै ‘प्लेअफ’ मा स्थान बनाउँदा बुटवल भने अन्तिम खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ। बुटवल पाँच खेलबाट एक अंक बटुल्दै पुछारमा छ। बुटवलले अन्तिम खेल बिहीबार पोखरा थन्डर्ससँग खेल्ने छ।
ललितपुरको जितमा अनन्त तामाङ र सन्तोष खत्रीले समान १-१ गोल गरेका थिए। सुरुवातबाटै दबाब बनाएको ललितपुरले २३ औँ मिनेटमा अनन्तको हेडमार्फत अग्रता लिएको थियो। अधिकांश समय १-0 को अग्रता बनाएको ललितपुरले खेल सकिन २ मिनेट बाँकी छँदा अग्रता दोब्बर बनाएको थियो। उसका लागि इमोहको पासमा सन्तोष खत्रीले टिमका लागि दोस्रो गोल गरेका थिए।
प्रतियोगितामा अपराजित ललितपुरले ५ खेलमा ३ जित र दुई बराबरीको नतिजामा ११ अंक बनाएको छ। अब ललितपुरले लिग चरणको अन्तिम खेलमा झापासँग खेल्ने छ।