काठमाडाैं । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत्र २० गतेदेखि यता विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै निरन्तर गरिरहेको सडक प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिप्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान ( काहुरास्ट) नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
महासंघ र सरकार बिच यसअघि विद्यालय शिक्षा ऐन पारित गर्ने भनि भएको सहमति कार्यान्वयन गर्नुपर्ने मागका विषयमा सरकार गम्भिर हुन नसकेको भन्ने शिक्षक आन्दोलनको गुनासोलाई सरकारले बेवास्ता गर्न मिल्दैन ।
लामो समयदेखि सडकमा उत्रनु पर्ने अवस्थाका कारण उत्पन्न हुन सक्ने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतमा गम्भिर र जिम्मेवार बन्न सरकारसँग हाम्रो आग्रह छ ।
सरकारले आफू अनुकुलको ऐनहरु अध्यादेशमार्फत जारी गरिरहेको सन्दर्भमा संसदमा रहेको विद्यालय शिक्षा ऐन पारित नगर्नुले सरकारको नियतप्रति प्रश्न उठेको अहिलेको अवस्थालाई अरु जटिलतातर्फ जान नदिन सरकारले अविलम्व पहलकदमी लियोस् भन्ने आग्रह गर्दछौं ।
साथै शिक्षक आन्दोलनकै कारण एसईई परीक्षाको नजिता प्रकाशनमा ढिलाई हुने अवस्था सिर्जना भएकोप्रति दुवै पक्ष गम्भिर बन्न र आन्दोलनरत शिक्षकहरुले पनि सरकारले आह्वान गरेको पटकपटकको वार्ता अस्वीकार गरिरहनुभन्दा वार्तामा बस्न र वार्ताबाटै समस्याको समाधान खोज्न पनि हामी आग्रह गर्दछौँ ।