–निमकान्त पाण्डे
अमेरिकाले विभिन्न देशलाई फरक फरक भन्सार शुल्क लगाउने निर्णय गरेपछि अहिले विश्व तरंगित बनेको छ । अमेरिकाको नयाँ नीतिबाट फाइदा बेफाइदाको हिसाबकिताबमा विभिन्न देश लागिपरेका छन् । नेपालले पनि अमेरिकी भन्सार शुल्कबाट आफूलाई हुने अवसर, सकारात्मक नकारात्मक प्रभाव र लाभ लिनसक्ने विषयलाई ध्यानमा राखेर आगामी योजना बनाउन सके अर्थतन्त्रलाई झन् टेवा पुग्ने देखिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपाली वस्तुलाई १० प्रतिशत भन्सार शुलक तोकेको छ । यस्तै, चिनियाँ वस्तुमा ३४ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । भारतीयमा वस्तुमा २६, बंगलादेशीमा ३७ र कम्बोडियाको उत्पादनमा ४९ प्रतिशत भन्सार शुल्क तोकेको छ । यस्तै श्रीलंकालाई ४४, इन्डोनेसियालाई ३२, भियतनामलाई ४६, ताइवानलाई ३२, पाकिस्तानलाई २९ प्रतिशत भन्सार शुल्क लगाइएको छ । १० प्रतिशत भन्सार शुल्क ५ अप्रिल (गत शनिबार) देखि लागू गरिएको छ र अन्य शुल्क ९ अप्रिल (बुधबार) देखि लागू हुने भनिएको छ ।
दक्षिण एसियाली, खासगरी नेपाली छिमेकी मुलुकहरुको तुलनामा नेपाललाई तोकिएको भन्सार शुल्कमा निकै फरक छ । यो नेपालका लागि ठूलो अवसर हुन सक्छ । किनभने नेपालले अहिले धेरै हदसम्म अमेरिका निर्यात गरिरहेको वस्तु भारत, पाकिस्तान, श्रीलंकालगायत देशबाट पनि निर्यात भइरहेको छ । ती देशका वस्तुमा भन्सार शुल्क बढी लाग्दा नेपाली त्यही किसिमका वस्तुमा कम भन्सार शुल्कका कारण प्रतिस्पर्धा गर्न अझ सहज हुने देखिएको छ । अर्कोतर्फ नेपाली उत्पादित वस्तुलाई कम भन्सार शुल्क लाग्ने कारणले नेपालले भारतीय र चीनका उत्पादनलाई नेपालमा ल्याई निर्यात गर्न सक्छ । यसबाट नेपालले नै लाभ लिन सक्छ । त्यसका लागि नेपालले चीन तथा भारतसँग सहकार्यका लागि प्रस्ताव राख्नुपर्छ । नेपालमै लगानीकर्ता आकर्षित गर्ने, उत्पादन बढाउने, निर्यात गर्ने ठूलो अवसर पनि हो यो । चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाजस्ता देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न, ती वस्तु निर्यातमा प्रोत्साहित गर्न अमेरिकाको नयाँ भन्सार शुल्कले मद्दत गर्ने देखिन्छ । त्यसैले नेपालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गर्न सक्छ ।
भन्सार दर फरक हुँदा नेपालका लागि बजार पहुँच सजिलो हुन्छ । यसले अप्रत्यक्ष रूपमा स्वदेशी वस्तुलाई प्रतिस्पर्धी बनाउँछ । तर निर्यात बढाउन उत्पादन क्षमता वृद्धि गर्नुपर्छ । त्यसका लागि लगानी विस्तार गर्न सक्नुपर्छ । अमेरिकाले नेपालका लागि ७७ वस्तुमा शून्य भन्सार शुल्क तोकेको थियो । २०७२ को भूकम्पपछि नेपाललाई अमेरिकाले ‘हार्मोनाइज्ड ट्यारिफ सेड्युल’ अन्तर्गत ७७ वस्तुमा भन्साररहित सुविधा दिएको हो । यस्तो सुविधा हस्तकला, सल, भ्रमण सामग्रीलगायत वस्तुमा छ । तर अमेरिकामा यी वस्तुको निर्यात बढ्न सकेको छैन । ७७ वस्तुतर्फ ५ वर्षमा २ अर्ब ९६ करोडको निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । अब यी वस्तुमा पनि भन्सार शुल्क लाग्ने भएको छ । यो सुविधा भने खोसिएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट सबैभन्दा बढी निर्यात हुने मुलुकमा भारतपछि अमेरिका पर्छ । आर्थिक वर्ष ०८०÷८१ मा नेपालबाट १७ अर्ब ३१ करोड बराबरको उत्पादन अमेरिका निर्यात गरिएको थियो । सरकारले कच्चा पदार्थ आयातमा केही सुविधा दिन सके अमेरिकातर्फ निर्यात बढाउन सकिन्छ ।
दुई ढुंगाबीचको तरुल भनियो नेपाललाई, दुई ढुंगाबीचको डाइनामाइट पनि भनियो, दुई विशाल छिमेकीहरुबीचको विकासे पुल पनि भनियो ! तर नेपाललाई नेपालकै नेताहरुले चिन्न सकेनन् । त्यसैले नै नेपालको अवस्था झन् झन् दल दलमा भासिंदै गइरहेको छ । १ करोड युवा पाखुरा विदेशिएका छन् कामको खोजीमा । अमेरिकाले अपनाएको नयाँ नीतिले विश्वका सबै देश प्रभावित हुँदैछन् । नेपाल पनि अछुतो छैन । पछिल्लो अमेरिकी ट्यारिफ नीतिले नेपालको अर्थतन्त्रलाई धेरै लाभ उठाउन सकिने उपायहरु देखिएका छन् । यो अवसरलाई सदुपयोग गर्न सक्ने हो भने नेपाललाई एक वर्षमै समृद्ध नेपाल र शुखी नेपालीको अवस्थामा पुराउन सकिने देखिन्छ । यसका लागि सरकारले निर्यात क्षेत्रको मनोबल उत्साहित गर्ने गरी नीति ल्याउनुपर्छ । कच्चा पदार्थ आयातमा सुविधा, कर्जामा सरलीकरणको व्यवस्था, पूर्वाधारमा सहयोग हुनुपर्छ । अमेरिकाको पछिल्लो निर्णयका कारण भारत, बंगलादेश, चीनलगायत मुलुकबाट लगानीकर्ता नेपालमा आएर तयारी पोसाक, कार्पेटलगायत निर्यातजन्य वस्तु उत्पादन गर्ने सम्भावना पनि छ ।
यो अवसरलाई यथार्थमा रूपान्तरण गर्न नेपालको उत्पादन क्षमता, गुणस्तर, ढुवानी व्यवस्था, बजार पहुँच र कूटनीतिक सक्रियता अत्यावश्यक छ । नेपालले यो अवसर चिन्नु मात्र होइन, त्यसअनुसार नीति निर्माण, संरचनागत सुधार र निजी क्षेत्रको सशक्तीकरण गर्न सक्यो भने अमेरिकी बजारमा दीर्घकालीन रूपमा स्थान बनाउन सक्छ । अहिलेको वैदेशिक व्यापार सन्तुलन ठीक पार्न, रोजगारी सिर्जना गर्न र आर्थिक सबलीकरण गर्न यो मार्ग अत्यन्त महत्वपूर्ण बन्न सक्छ । जनधारणा साप्ताहिक