लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिंदा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी गराए ।
सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनले उल्लेख गरे ।