काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएको तलब वितरण गरिएको छ।
महानगरपालिकामा पुन: सरोज गुरागाईं प्रमुख प्रशासकीय अधिकृतमा फर्किएपछि कर्मचारी, शिक्षक, जनप्रतिनिधि सबैलाई सोमबार तलब वितरण गरिएको हो।
आर्थिक अधिकारप्राप्त प्रमुख प्रशासकीय अधिकृतलाई पुस ७ गते महानगरले कारबाही गरेपछि तलब निकासा हुन सकेको थिएन।
चैत्र २१ गते मेयर बालेन्द्र साह (बालेन)का अवरोधकाबीच प्रमुख प्रशासकीय अधिकृतमा हाजिरी भई गुरागाईंले सोमबार तलबसमेत निकासा गरेका छन्। महानगरमा १९ सय अस्थायी र दुई हजार स्थायी कर्मचारी गरी करिब ३९ सय कर्मचारी छन्। महानगरभित्र तीनहजार शिक्षकहरू र जनप्रतिनिधि छन्।
शिक्षकहरूले चार महिनादेखि र कर्मचारी तथा जनप्रतिनिधिले तीन महिनादेखि तलब खान पाएका थिएनन्। मेयर बालेनसँगै सोमबार सबैको तलब एकमुष्ट निकासा गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
‘डिजिटल रुपमा तलब निकासा गरिने गरिएको छ। सबैलाई आजै (सोमबार) तलब पठाइएको छ’, उनले भने।
काठमाडौँ २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि महानगरले उनलाई कारबाही भएको थियो। तर उनलाई लागेको आरोप पुष्टि नभएपछि संघीय सरकारले गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृतका लागि खटाएको थियो।