काठमाडाैं । हाम्रो देशमा तीनवटा उल्लेखनीय जन आन्दोलन भएका हुन् । २००७ सालमा एकतन्त्री जहाँनिया राणाशासन विरोधी जनआन्दोलन, २०४६ सालको सामन्ती अधिनायकवादी पञ्चायती ब्यवस्था विरूध्द संयुक्त जन आन्दोलन र २०६३ सालको राजतन्त्र विरोधी बृहत् संयुक्त जन आन्दोलन । तर ती जन अन्दोलनको मर्म र भावना अनुसार नेपाली जनता र राष्ट्रको हितमा मूलधारका जन आन्दोलनकारी शक्तिहरु चलेनन् । जन आन्दोलनद्वारा विस्थापित गरेको प्रतिकृयावादी शक्तिहरुकै परम्परा र प्रवृत्तिलाई दलहरूले अँगाले । त्यसले गर्दा ती आन्दोलनहरूले आंशिकरुपमा स्थापना गरेका सकारात्मक उपलब्धीहरुको रक्षा र प्रवर्धन पटक्कै हुन सकेन । राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा जनजीविकाका आधारभूत समस्याहरु हल हुने दिशामा जानुको सट्टा ती समस्याहरु अझ जटील र विकराल बन्दै गएको आजको यथार्थ छ ।
यो यथार्थलाई आत्मसात नगरी जन आन्दोलन दिवसप्रति ओठे भक्ति देखाउने अनि प्रतिकृयावादी शक्तिकै गलत पथमा लाग्ने प्रवृत्तिले आज मलजल पाएको र पाइरहेको छ । त्यसका लागि अहिलेसम्म सत्ता र सकारमा पुगेका सबै दलहरु जिम्मेवार छन् । देशमा ब्याप्त अजंगका भ्रष्टाचारका एक पछि अर्को भयावह प्रकरण, कमशिनखोरी, सत्ता संरक्षित डरलाग्दा मानव बेचबिखनका लज्जास्पद प्रकरण, सुन तस्करी जस्ता एक पछि अर्को घटनाले यो अवस्थाप्रति मात्रै होइन व्यवस्थाप्रति नै गम्भीर प्रश्न उठिरहेको छ । जुन एकदमै स्वाभाविक हो । र जनतामा छाएको त्यो निराशामाथि टेकेर प्रतिक्रियावादी सामन्ती शक्तिले पुनः टाउको उठाउन थालेको हालैका घटनाक्रमले पुष्टि गरेकै छ । जनता र राष्ट्रको निर्मम शोषण र दोहनमा आधारित कुनै पनि ब्यवस्था चाहे त्यो सामन्ती होस् या पूँजीवादी ती शोषित उत्पीडन आम जनताका लागि मान्य र स्वीकार्य छैनन् भन्ने कुराकै निरन्तर पुष्टी र पुनर्पुष्टी भइरहेको छ । सत्तामा पुगेका बिचलनकारी शक्तिहरुले आफुलाई जतिसुकै सिंगारपटार गरेर प्रस्तुत गर्न खोजे पनि बर्तमान अबस्था र ब्यवस्थाले जनता र राष्ट्रको हित गर्न सक्तैनन् भन्ने छर्लंङ्ग छ ।
अतः बैज्ञानिक समाजबादको ठोस आधारभूमि तयार गर्ने नयाँ जनवादी क्रान्तिको मार्ग प्रसस्त गर्ने दिशामा सम्पूर्ण कान्तिकरी कम्युनिष्ट, प्रगतिशील लोकतान्त्रिक शक्तिहरु लगायत राष्ट्रप्रेमी जनतान्त्रिक बुद्धिजीव, प्राध्यापक, शिक्षक, कानन ब्यवसायी, चिकित्सक, इञ्जिीनीयर्स, निर्माण ब्यवसायी समेत स्वाधिनताप्रेमी नेपाली समाजका आधारभूत वर्ग तहका मजदुर किसान, महिला, यूवा बिद्यार्थी तथा नेपाली समाजका सम्पूर्ण तह र तप्काका जन समुदाय एकजुट र संघर्षशील हुनको कुनै विकल्प छैन । समयको माग र पुकारलाई आत्मसात गर्न सक्नु नै जन आन्दोलन दिवस मनाउनुको सार्थकता हुन्छ भन्ने यथार्थ औंल्याउँदै नेपाल कम्युनिष्ट पार्टी जन आन्दोलको मर्म र भावना एवं आजको राष्ट्रिय आवश्यकताप्रति एकाकार भएर अघि बढन् जोडदार आह्वान र आग्रह गर्दछ । यसरी मात्र सम्पूर्ण जन आन्दोलका शहीदहरु, घाईते र अपाँगहरु तथा महान नेपाली जनताको सम्मान र समुन्नति मूल बाटोतर्फ अग्रसर हुन सकिन्छ भन्ने कुरा समेत पुनः नेपाल कम्युनिष्ट पार्टी दोहोर्याउन चाहन्छ। २०४६ चैत्र २४ को जनउत्सर्ग र संयुक्त जन आन्दोलनको मर्म र भावना अमर रहोस् । जन आन्दोलन दिवस जिन्दावाद ! वीर अमर शहीदहरु लाल सलाम ! न्यानो अभिवादन सहित !