काठमाडौं । पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा चेलीले क्रान्ति गरेका छन्। प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवारले जितेका हुन्।
निर्वाचन अधिकृत सहप्रा. डा. शैलेन्दुप्रकाश नेपालका अनुसार क्याम्पसको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियारले ३७९ मत पाएकी छन्। सचिवमा सन्ध्या बस्याल ६९५ मतसहित विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी नेविसंघकै विपना न्यौपानेले ३६१ मत पाएकी छन्। कोषाध्यक्ष संकल्पिका थापा ६६६ मत ल्याएर विजयी हुँदा नेविसंघी चाँदनी शाह ४०५ मत ल्याएर पराजित भएकी छन्।
त्यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि.क, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल विजयी भएका हुन्। प्रमुख पद र सदस्यमा निर्वाचित सबै स्वतन्त्र उम्मेदवार हुन्। चैत ७ गते भएको निर्वाचनको परिणाम आयोगले गएराति सार्वजनिक गरेको हो।



