काठमाडौं । प्रमुख सत्तारूढ नेकपा (एमाले) सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।
उनले राजावादीहरुको पछिल्लो आन्दोलनमो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर। प्रयोग गरिएकोबारे प्रश्न उठाए ।
राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्सामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तले जनाए । ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्ड पनि उनले स्मरण गराए । उनले तत्कालीन शाहज्यादा पारस शाह जोडिएको गायक प्रविण गुरुङको हत्याको प्रसंग पनि निकाले ।
उनले नेपाली जनतालाई राजतन्त्र नचाहिएको दाबी गरे । ‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु, अहिलेको संविधानले राजतन्त्र चिन्दैन’, उनले भने, ‘त्यो विषयमा यो संसदभित्र छलफल गर्न पाइँदैन । राजतन्त्र भनेको विशेषाधिकार हो । संसारको प्रवाह भनेको गणतन्त्र हो ।’


