काठमाडौं । प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन्।
आइतबार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई लागेको यौन दुर्व्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताएका हुन्।
उनले कुनै अमूक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताए। कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ट्रायल गर्ने हो भने राम्रा मान्छेहरु पीडित हुने उनको धारणा छ।
संग्रौलामाथि लगाएको आरोपको अनुसन्धान गर्न काठमाडौं स्कुल अफ लको व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ।
काठमाडौं स्कुल अफ लमा अध्ययन गरेकी एक विद्यार्थीले संग्रौलाले आफू र अन्य विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। उनको आरोपपछि अन्य विद्यार्थीहरूले पनि काठमाडौँ स्कुल अफ लमा संग्रौला तथा अन्य कर्मचारी तथा शिक्षकहरूले पनि पटकपटक विद्यार्थीहरूमाथि दुर्व्यवहार गरेको भन्दै छानबिनको माग गरिरहेका छन्।