काठमाडौं । एमाले सांसद भगवती चौधरीले संघीय संसद देश र जनताका समस्यामा केन्द्रित हुनुपर्नेमा अनावश्यक आरोप प्रत्यारोपमा अल्झिएको भन्दै सम्मानित संसदमा अनर्गल प्रचारबाजी हुनु दुःखद भएको जनाएकी छन्।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेकी सांसद चौधरीले संसदलाई आरोपप्रत्यारोपको थलो बनाउन नहुने जनाइन्।
पछिल्लो समय मुलुकले व्यहोरिरहेको बेरोजगारी, युवा पलायन, महिला हिंसालगायत विषय संसदमा प्रवेश नपाउँदा जनताका विषय गौण भइरहेको बताउँदै सांसद चौधरीले राजनीतिक दललाई देश र जनताका पक्षमा एकबद्ध भएर अगाडि बढ्न अनुरोध गरिन्।
‘हिंसामुक्त समाज, बेरोजगारीको अवस्था, युवा पलायनको अवस्था, निराशाका विषयलाई टेवल टक गरौं। सबै पार्टी एकजुट भएर नेपालको रणनीति कस्तो हुनुपर्छ रु भन्ने विषयमा छलफल गरौं,’ सांसद चौधरीले भनिन्।
विज्ञान, प्रविधि र एआईको जमानामा नेपाललाई त्यसतर्फ डोहोर्याउन, युवाहरुलाई स्वदेशमै टिकाउने सवालमा बहस र छलफल हुन नसकेको उनको भनाइ छ। कानुनले महिलाहरुलाई कार्यकारी भूमिका सुनिश्चित गरेपनि व्यवहारत लागू हुन नसकेको उनले जिकिर गरिन्।
उनले संसदमा वर्तमान सरकारका प्रमुखलाई हिटलर भनेको प्रति पनि आपत्ति जनाइन्। सोमबार मात्रै राजसंस्था फर्काउने भन्दै सडक तताउने कार्य गलत भएको तर्क गर्दै संबैधानिक तवरबाट जो कोही आए पनि फरक नपर्ने बताइन्। ‘श्री ५ सरकारदेखि लिएर श्री ३ महाराजहरु पनि फर्काउने हो कि, २२ से २४ से पनि आउने हो कि ? जे–जस्तो भए पनि संबैधानिक तबरले जे भन्छ त्यही भए फरक पर्दैन’, उनले भनिन्। संविधान र लोकतान्त्रिक पद्धतिबाट मुलुकलाई अगाडि बढाउन सबै जना साझा मुद्दामा एक हुनुपर्ने सांसद चौधरीको भनाइ छ।