काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको विशेष पर्व फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होलीपर्व पूर्णिमाको राति चीरदाह गरेपछि समापन हुन्छ। रङ्गहरूको पर्वको रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपूर्णिमा देशभर विभिन्न रङ र अबिर खेल्दै खुशियालीसाथ मनाउने परम्परा रहेको छ ।
राष्ट्रपति पौडेलले होली पर्व असत्यमाथि सत्यको, अन्याय माथि न्यायको, दूराचार माथि सदाचारको र अधर्म माथि धर्मको विजय भएको खुशियालीमा मनाइने हुँदा यसले समस्त नेपालीहरूबीच रिसराग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास लिएको पनि उल्लेख गरेका छन्।
होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि राष्ट्रपति पौडेलले व्यक्त गरेका छन्।