काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । महानगरपालिकाले पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाउँदै जरिवाना गरेको थियो ।
महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको बताएको थियो । राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले महानगरको निर्णय स्वीकार गर्दै एक लाख रुपैया खातामा दाखिला गरिएको जानकारी गराएका छन् ।
‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं । १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं,’– उनले भनेका छन् ।
आइतबार राप्रपासहितका राजावादी शक्तिले काठमाडौंमा प्रदर्शन गरेका थिए। पूर्व राजा ज्ञानेन्द्र शाहको काठमाडौं आवागमनमा समर्थन जनाउँदै राजावादीले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा फोहोर गरेको भन्दै महानगरले जरिवाना गरेको हो ।
यता सत्तारुढ दल नेकपा एमालेले भने महानगरको जरिवाना नतिर्ने अडान लिएको छ । गत मंसिर ७ गते एमालेले काठमाडौंमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । उक्त जरिवाना एमालेले हालसम्म पनि तिरेको छैन् ।
त्यति बेला महानगरद्वारा एमाले पार्टी कार्यालयलाई लेखेको पत्रमा भनिएको छ ‘मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ’।
सुरुमा महानगरको टोलीले एमाले मूख्यालय च्यासलमा जरिवानाको पत्र दिएको थियो । उक्त पत्र एमालेले लिन अस्वीकार गरेपछि महानगरले हुलाकबाट उक्त पत्र पठाएको थियो । यद्यपि हालसम्म उक्त जरिवाना प्राप्त नभएको महानगर स्रोतले जनाएको छ ।